अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१३ | Colorodo: 17:28

कोभिड–१९ महामारीको दोस्रो लहर अति भयावह हुनेछ : सिडिसी निर्देशक रेडफिल्ड

बिआरटीनेपाल २०७७ वैशाख ९ गते २२:०४ मा प्रकाशित

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सिडिसी) ले विश्वव्यापी महामारीको रुप लिएको नोवेल कोरोना भाइरसको संक्रमणको दोस्रो लहर अहिलेको भन्दा पनि भयानक र चुनौतिपूर्ण हुने सक्ने चेतावनी दिएको छ । सिडिसीका निर्देशक रोबर्ट रेडफिल्डले कोरोना भाइरस संक्रमणको दोस्रो लहर आउँदो फ्लू सिजन अर्थात जाडो याममा थप जोखिमपूर्ण भएर आउन सक्ने बताएको अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टले उल्लेख गरेको छ ।

निर्देशक रेडफिल्डले भनेका छन्, ‘हाम्रो देशमा कोरोना भाइरसको संक्रमण फैलिन नदिने प्रयास आउँदो विन्टर (जाडो याम) मा अहिलेको भन्दा पनि चुनौतिपूर्ण हुने सम्भावना छ ।’ उनले अगाडि भनेका छन्, ‘हामीले यो कुरा अरुलाई पनि भनेका छौँ, उनीहरुले मुन्टो फर्काए, मैले भन्न खोजेको र सम्भावित जोखिम शायद उनीहरुले बुझेका छैनन् ।’ ‘हामी फ्लू महामारी तर्फ गरिहेका छौँ र कोरोना भाइरसको महामारी पनि यथावत छ, यसको चुनौति आँकलन गरिए भन्दा अधिक हुनेछ’ रेडफिल्डको भनाई छ ।

लगातारका दुई महामारीले कल्पनै नगरिएको चुनौति तथा दबाब स्वास्थ्य सेवामा पार्ने उनले बताएको वासिङ्गटन पोस्टले उल्लेख गरेको छ । सिडिसीका निर्देशक रेडफिल्डको यस्तो चेतावनी आइरहेका बेला र कोरोना भाइरसको महामारी नियन्त्रणमा नआउँदै अमेरिकाका धेरै राज्यमा लकडाउन हटाउने वा खुकुलो पार्ने क्रम सुरु भएको छ । विज्ञले यसबाट संक्रमण नियन्त्रणमा लिन कठिन हुने र सर्वसाधारणको ज्यान जोखिममा पर्ने चेतावनी दिँदै आएका छन् ।

तर राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अर्थतन्त्रमा गम्भीर असर पर्ने भन्दै लकडाउन खुलाउनु पर्ने बताउनुभएको छ । यस्तै उहाँले गभर्नरहरुलाई सोही दबाब दिनुभएको छ र लकडाउनको विरोधमा प्रदर्शन गर्नेहरुको पनि ट्रम्पले समर्थन गर्दै आउनुभएको छ । स्वास्थ्य अधिकारीहरुले भने सामाजिक तथा भौतिक दूरी अझै कामय गरिनु पर्ने बताएका छन् । रेडफिल्डले पनि घरमै बस्नु पर्ने नियम हटाए पनि सामाजिक दूरीको नियम भने लागु गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू