अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:२२ | Colorodo: 11:37

पार्टीलाई सुदृढ बनाउन सकारात्मक प्रयास गर्नुपर्ने– नेकपा अध्यक्ष प्रचण्ड

बिआरटीनेपाल २०७७ वैशाख ९ गते २२:०१ मा प्रकाशित

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई थप बलियो र सुदृढ बनाउनका लागि सबैले आ–आफ्नो स्थानबाट सकारात्मक प्रयास गर्नु पर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७१ औँ स्थापना दिवसको अवसरमा बुधबार शुभकामना सन्देश दिँदै प्रचण्डले देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको बताउँदै पार्टी थप सुदृढ बनाउनका लागि सकारात्मक पहलको खाँचो रहेको बताउनुभएको हो ।

सन्देशमा प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्नु, जनमत र जनभावनाको सम्मान गर्दै समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार रहेको उल्लेख गर्नुभएको छ । नेकपा स्थापनाको ऐतिहासिक अवसरमा पार्टी एकताको महत्वलाई बुझ्न र पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहलका लागि उहाँले पार्टीका नेता–कार्यकर्तासँग आग्रह समेत गर्नुभएको छ ।

सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी क्रान्तिको पूर्णतामार्फत समाजवाद एवं साम्यवादसम्म पुग्ने लक्ष्यसहित सन् १९४९ अप्रिल २२ मा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय