अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 00:41

सरकारले ल्याएको विधेयकप्रति नेकपा सचिवालय बैठकमा नै चर्को असन्तुष्टि, बैठक निष्कर्षबिहीन

बिआरटीनेपाल २०७७ वैशाख ८ गते २२:३५ मा प्रकाशित

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गर्नु भएपछि सोमबार साँझ आकस्मिकरुपमा बोलाइएको नेकपाको सचिवालय वैठक कुनै टुंगोमा नपुगी स्थगित भएको छ । सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याउनुको औचित्य पुष्टि गर्ने प्रयास गरेपनि बैठकमा सहभागीहरुले अध्यादेशको विषय गम्भीर भएकाले अध्यादेश जारी गरेको विषयमा आपत्ति जनाएका थिए ।

बैठक पछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकमा सहभागीहरुले पूर्व छलफल विना गम्भीर विषयमा विधेयक जारी भएकोप्रति असहमति जाहेर गर्दै विधेयक जारी भइसकेको अवस्थामा छलफल आवश्यक नभएको धारणा राखेको जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले यसलाई ठूलो विषय नबनाउन आग्रह गरेको पनि श्रेष्ठले जानकारी दिनुभयो । विधेयक गम्भीर राजनीतिक महत्वका भएकोले पनि वैठकमा सहभागीहरुले यस विषयमा गम्भीररुपमा आफ्नो धारणा राखेको पनि श्रेष्ठको भनाइ थियो । सचिवालय बैठक प्रभावित भए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुग्नु भएको थियो ।

मन्त्रिपरिषद् बैठकले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेशबारे निर्णय लिएको थियो । मन्त्रिपरिषद्को निर्णय पछि सिफारिस गरिएको दुबै विधेयक बालुवाटारमा नेकपाको सचिवालय बैठक बसिरहेकै बेला राष्ट्रपति भण्डारीबाट जारी भएको थियो ।

यसैबीच नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निकटका नेताहरुलाई तत्काल काठमाडौ नछाड्न निर्देशन दिनु भएको उहाँ निकट स्रोतले जानकारी दिएको छ । अध्यक्ष प्रचण्डले दुबै विधेयकलाई निकै गम्भीरताका साथ लिनु भएको पनि स्रोतको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय