नेपालमा अहिलेसम्म कोरोना भाइरसको कुल परीक्षण ३३ हजार ५ सय ६२ वटा भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पिसिआरबाट ८ हजार ४ सय १४ र र्यापिड टेस्टबाट २५ हजार १ सय ४८ जनाको परीक्षण भएको हो।
स्वास्थ्य मन्त्रालयको नियमित ब्रिफिङका क्रममा प्रवक्ता डा. विकास देवकोटाले गत २४ घन्टामा देशभर पिसिआरबाट ३ सय २४ जना र र्यापिड टेस्टबाट ३ हजार १९ जनाको परीक्षण भएको जानकारी दिनुभयो । आरडीटी परीक्षण सबै जिल्लामा सुरु भइसकेको देवकोटाको भनाई छ ।
प्रवक्ता देवकोटाका अनुसार हाल देशभर ५ हजार ९ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन् भने आइसोलेसनमा बस्नेको संख्या १ सय ११ जना रहेको छ । उनीहरुमध्ये काठमाण्डौं उपत्यकाभित्र ४ जना र उपत्यका बाहिर १ सय ७ जना रहेका छन् ।
कोरोना संक्रमणको रेडजोनमा देशभर २ सय ६३ जना रहेको मन्त्रालयले जानकारी गराएको छ । मुलुकमा अहिलेसम्म कुल संक्रमितको संख्या ३१ नै रहेको प्रवक्ता देवकोटाले बताउनुभयो । यसमध्ये ४ जना निको भएर फर्किसकेका छन् भने २७ जना अस्पतालमा उपचाररत छन्। उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
