अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

नेपालमा थप एक जनामा कोरोना सङ्क्रमण, संक्रमितको संख्या ३१ पुग्यो

बिआरटीनेपाल २०७७ वैशाख ६ गते २२:१५ मा प्रकाशित

नेपालमा कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या ३१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमोयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले उदयपुरमा थप एक जनामा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँले शुक्रबार उदयपुरमा सङ्क्रमण देखिएका १२ जनाको समूहकै व्यक्तिमा आज परीक्षणका क्रममा सङ्क्रमण देखिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार ती व्यक्ति ६५ वर्षीय पुरुष हुन् ।सङ्क्रमित नेपाली वा भारतीय हुन भन्नेबारे अझै विस्तृत विवरण प्राप्त हुन सकेको छैन । शुक्रबार उदयपुरमा एक मस्जिदमा रहेका १२ जनामा सङ्क्रमण देखिएको थियो । मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीले कोशी अस्पतालमा परीक्षणका क्रममा सङ्क्रमण देखिएको बताउनुभयो । उहाँले सङ्क्रमितका नजिकका आफन्तको कन्ट्याक ट्रेसिङ पनि सुरु गरिएको जानकारी दिनुभयो ।

नेपालमा पहिलो पटक गएको माघ ९ गते र दोस्रो पटक चैत १० गते विदेशबाट आएका मानिसमा सङ्क्रमित देखिएको थियो । सङ्क्रमितमध्ये शनिबार दुई जना डिस्चार्ज भएका छन् भने यसअघि नै एक जना डिस्चार्ज भएका थिए । सङ्क्रमितमध्ये तीन जना निको भएका छन् भने बाँकी २८ विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय