कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित बागलुङकी ६५ वर्षीय मनकुमारी पौडेल अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । धौलागिरि अञ्चल अस्पताल बाग्लुङको आइसोलेसनमा उपचाररत पौडेलको तेस्रो र चौथो स्वाब परीक्षणमा कोरोना संक्रमण नभएको पाइएपछि अस्पतालले डिस्चार्ज गरेको हो ।
डिस्चार्जपछि पौडेलले आफूले जसरी पनि कोरोना भाइरसलाई जित्ने अठोट बनाएको र अन्ततः जित्न सफल भएको प्रतिक्रिया दिनुभयो । आत्मबल दह्रो बनाए कोरोनालाई सजिलै जितिने उहाको भनाई छ । “मलाई कोरोनाको संक्रमण भएपनि शारिरिक रुपमा कुनै समस्या थिएन, विश्वका हजारौं मानिसको ज्यान लिएको कोरोनालाई जित्छु भन्ने अठोटका कारण ६५ वर्षको उमेरमा कोरोनालाई जितेर घर फर्केकी छु ।”–पौडेलले भन्नुभयो ।
https://www.facebook.com/bimal.acharya1/videos/3177875558898255/
१६ दिनसम्म अस्पतालको आइसोलेसनमा बसेर उपचार गर्दा प्रयाप्त मात्रामा पानी पिएको र अस्पतालले दिने खाना, खाजा तथा अन्य औषधीहरु नियमित रुपमा सेवन गरेको पौडेलले बताउनुभयो । आफ्नै घर नजिकको अस्पतालबाटै कोरोनाको उपचारपछि फर्कन पाउँदा खुसी लागेको बताउँदै संक्रमण लाग्दै नदिनका लागि सबै सतर्क हुनुपर्ने पौडेलले बताउनुभयो ।
