संसारमा फैलिरहेको कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित अहिले अमेरिका बनेको छ । यो समाचार लेख्दा अमेरिकामा अहिले सम्म ३७ हजार ३०३ जनाको ज्यान गई सकेको छ भने ७ लाख १४ हजार ३८७ जना संक्रमित छन् । यो सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १ लाख ५७ हजार ४०४ पुगेको छ भने २२ लाख ८६ हजार ३६५ जना सङ्क्रमित भएका छन् ।
अमेरिकामा रहेका नेपाली पनि कोरोना संक्रमितको सिकार बनेका छन् । सबै भन्दा बढी नेपाली कोरोना संक्रमित न्यु योर्क सहरमा रहेको अनुमान गरिएको छ । यसै क्रममा अमेरिकाको न्यूजर्सीमा बस्दै आएका कोरोना संक्रमित नेपाली पत्रकार ताजा बहसका प्रधान सम्पादक मान छिरिङ तामाङ उपचारपछि निको भएका छन् ।
उपचारपछि सामान्य जीवनमा फर्किएका मान छिरिङ तामाङले सुनाएको अनुभव जस्ताको तस्तै:
गत मार्च २२ तारिखका दिन आइतबार एक्कासि मलाई रुघाखोकीले च्याप्यो । साथसाथै टाउको दुख्ने र पुरा शरीर नै दुख्ने हुन लाग्यो । म विगत ४ वर्षदेखि अमेरिकाको न्यूजर्सीस्थित एक रेष्टुरेष्टमा कार्यरत छु । यसरी रुघाखोकीले च्यापेपछि मैले न्यूयोर्कमा रहनुभएका मेरा बहिनीज्वाइं एवं चर्चित सामाजिक अभियन्ता लुइसाङ वाइवाज्यूलाई सबै जानकारी गराएँ । उहाँ आफै मलाई लिन मार्च २४ तारिख न्यूजर्सी आउनु भयो । उहॉसंगै म न्यु योर्क आएँ । न्यु योर्क आएपछि झन् मलाई ज्वरो पनि आउन थाल्यो । खानाको स्वाद पनि थिएन । आफूलाई निकै कमजोर महसुस गरेको थिएँ । बहिनी ज्वाइंपनि निकै चिन्तित हुनुहुन्थ्यो । २६ तारिखका दिन ज्वाइँले मलाई अर्जेन्ट केयर लगेर कोभिड टेस्ट गराउनु भयो। तर त्यसको रिपोर्ट आउन ढिला भयो । ज्वाइँले मलाई धेरै सम्झाउनु भयो । सकारात्मक आत्मबल दिनु भयो ।
त्यसपछि २७ तारिखका दिनदेखि अमर भाइको अपार्टमेन्टमा सेल्फ क्वारेन्टाइनको लागि सरेँ । मलाई त्यहाँ बहिनी दावा शेर्पाले बिहानदेखि साँझसम्म हरेक दिन खानेकुरादेखि सबै कुरा धेरै सहयोग गर्नु भयो । एवंरीतले मेरो रुघाखोकी र ज्वरो ठिक हुन गयो । खाना खान पनि मन लाग्न थाल्यो । हल्का खोकी थियो , त्यो तातोपानी पिउँदै गरेर आफसे आफ ठिक भयो । कोभिड टेस्टको १५ औँ दिनपछि बल्ल मेरो रिपोर्ट आयो । ज्वाइँले रिपोर्ट नतिजा मलाई सुनाउँदा साह्रै दुःख लाग्यो । आफूलाई सम्हालेँ । आत्मबल उच्च बनाएँ । त्यसो त रुघाखोकी, ज्वरो ठिक भइसकेको थियो । आज बिरामी भएको २८ दिन पुरा भएको छ। मलाई अस्पतालमा भर्ना हुनु पर्ने अवस्था समेत भएन । आफू एकदम ठिक भएको महसुस भइरहेको छ । अहिले भने छुट्टैरुपमा बसिरहेको छु । यतिखेर मलाई कोरोना भाइरसदेखि बाँचेर नयाँ जीवन पाएको अनुभूति भएको छ । यसका लागि मेरो बहिनी ज्वाई लुइसाङ वाइवाज्यू र दावा शेर्पा बहिनीको साथ सहयोगको जीवनभरि ऋणी हुनेछु । तपाइहरूले यस्तो जटिल परिस्थितिमा पनि मलाई सहयोग गर्नु भएकोमा ह्रदयदेखि आभार प्रकट गर्दछु ।
यस्तै गरी हरेक साँझ-बिहान मलाई सम्पर्क गरेर सम्झाई बुझाई गर्नु हुने, सकारात्मक आत्मबल दिनुहुने कुमारी नाना, टेक दाइ, रञ्जु भाउज्यू, काशी बहिनी, गङ्गा भेना, राजन गौली सर, स्मृति बहिनी, विमला बहिनी, नारायण परियार भाइ, आस घर्ती मगर भाइ, भाञ्जीज्वाई रुबी-कर्मा, कान्छा भाइलाई ह्रदयदेखि धन्यवाद दिन चाहन्छु । हरेक साँझ बिहान मलाई खानपिनको व्यवस्था गरिदिनुहुने टेक दाई, रञ्जु भाउज्यू र काशी बहिनीलाई दुई हात जोडेर नमन गर्न चाहन्छु । यस्तै गरी मलाई प्रोत्साहन, हौसला र आत्मबल बढाउन बारम्बार फोनबाट आवश्यक सल्लाह र सुझाव दिनुहुने तामाङ समाज अमेरिकाको अध्यक्ष सानुमाया तामाङज्यू, समाजसेवी भरत मोक्तानज्यू, इन्द्र तामाङज्यू, नेपाली जन सम्पर्क समितिका महासचिव मुनीन्द्र नेम्वाङज्यू, एनआरएन अमेरिका न्यु योर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीज्यू, धादिङ नेपाली समाज अमेरिकाका अध्यक्ष दिवाकर पाण्डेज्यू, एवं उपाध्यक्ष भक्त गुरुङज्यूलगायत मलाई प्रत्यक्ष र परोक्षरुपमा सुस्वास्थ्यको कामना गर्नु हुने सबैप्रति नमन गर्दछु । साथै कोभिड -१९ महामारीबाट बच्न हेलचक्र्याईं नगरी सचेत रहेन पनि बिनम्रतापूर्क अनुरोध गर्दछु ।