नेपालकी दोस्रो कोरोना संक्रमित प्रसिद्धि श्रेष्ठ उपचारपछि निको भएर घर फर्किएकी छिन् । गत चैत १० गते कोरोना संक्रमण पुष्टि भएकी काठमाडौंकी १९ वर्षीया युवती शनिबार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट ‘डिस्चार्ज’ भएकी हुन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको ‘आइसोलेसन वार्ड’मा उपचाररत् ती युवतीको सबै ‘रिपोर्ट नेगेटिभ’ आएपछि उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । ती युवती चैत ४ गते फ्रान्सबाट नेपाल आएकी थिइन् ।
डिस्चार्ज भएपछि अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा उनले स्वस्थ बनेर घर फर्कन पाएकोमा खुसी व्यक्त गरेकी छिन् । साथै, आफूलाई सामाजिक सञ्जाल तथा समाचारमा ‘कलंक’को रुपमा प्रस्तुत गरिएकोमा श्रेष्ठले दुःख व्यक्त गरिन् । जनस्तर र मिडियाले ‘सुपर स्प्रेडर’जस्ता शब्द प्रयोग गरेर कलंकका रुपमा प्रस्तुत गरिएकोमा उनको आपत्ति थियो ।
कोरोनाभाइरस संक्रमितलाई हेयको दृष्टिकोणले हेर्दा कोही संक्रमित छन् भने पनि उनीहरुलाई अगाडि आउन गाह्रो हुने श्रेष्ठको भनाइ छ । उनले संक्रमण फैलिन नदिन ‘सेल्फ आइसोलेसन’लाई कडाइका साथ पालना गर्न र संक्रमित भइहाले पनि धैर्यताका साथ उपचार गराउन पनि आग्रह गरेकी छन् । उपचार गराइरहेकाहरुलाई आत्मबल दह्रो बनाउन उनको सुझाव थियो । श्रेष्ठले उपचारको क्रममा अस्पतालमा राम्रो सेवा पाएको बताउँदै उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई धन्यवाद समेत दिएकी छन् ।
