मुलुकमा प्रि मनसुन सक्रिय भएको छ । जसका कारण मुलुकका अधिकांश स्थानमा बर्षा भईरहेको छ । प्रि मनसुनका कारण देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रही अझै केही दिन देशको मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बंगालको खाडीबाट नेपालको पश्चिमी क्षेत्र हुँदै प्रवेश गरेको पश्चिमी वायु र प्रिमनसुन सक्रिय भएकाले अझै दुई÷ तीन दिन देशका धैरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अवको ३ दिनसम्म अपराह्नपछि मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा हुने देखिन्छ ।
केहीदिन यता बिहान आकाशमा डम्म बादल लाग्ने, बेला–बेलामा घाम लाग्ने र दिउँसोतिर मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित क्षणिक वर्षा हुने गरेको छ । अहिले प्रिमनसुन (मनसुन सुरु हुनुभन्दा पहिले)को समय भएकाले यस्तो मौसमी गतिविधि भइरहेको र प्रिमनसुनी समयमा यस्तो गतिविधि सामान्य रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
