नेपाल सरकार विपद व्यवस्थापन परिषद्को बैठक बसेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार साँझ बोलाइएको बैठकमा कोरोना संक्रमण र सुरक्षाका उपायका बिषयमा छलफल भएको बताईएको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं सभापति शेरबहादुर देउवाले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट देश र जनताको सुरक्षाका लागि सरकारले चालेका कदमहरुमा आफ्नो दलको साथ रहेको बताउनुभयो ।
बैठकपछि प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो फेसबुकमार्फत बैठकमा पूर्वप्रधानमन्त्री देउवाले उपस्थित भएर सरकारले चालेका कदमहरुमा साथ रहेको जानकारी दिएको उल्लेख गर्नुभएको छ । बैठकमा भएको थप छलफल र निर्णयबारे भने केही बताईएको छैन ।
कोरोना भाइरसको संक्रमण विरुद्ध सरकारले लिएका कतिपय विवादस्पद निर्णय र कमिकमजोरीका बाबजूद प्रमुख प्रतिपक्षी दलसहित सिंगो देशले सरकारले जारी गरेको लकडाउन आदेशको पूर्ण पालनामा साथ र समर्थन दिँदै आएका छन्।
