विश्वब्यापी महामारीका रुपमा फैलिईरहेको कोरोना भाईरसका कारण लकडाउन र अन्तर्राष्ट्रिय उडान बन्द भएसंगै अमेरिकामा रहेका नेपाली नागरिकहरुले आफुहरुलाई यथाशीघ्र नेपाल फर्काउन सरकारसंग माग गरेका छन् । स्वदेश फर्कन नेपाल सरकारले निर्धारण गरेका सबै प्राबधान र प्रक्रिया पुरा गर्न आफुहरु तयार रहेको उल्लेख गर्दै उनीहरुले नेपाल सरकारसंग यस्तो आग्रह गरेका हुन् ।
विभिन्न भिसामा अमेरिका गएका तर स्वदेश फर्कन नपाएका नेपालीहरुले भिसा अबधि सकिन लागेको र अमेरिकामै बस्न थप अन्यौल भएको भन्दै प्रक्रिया पुर्याएर स्वदेश फर्कन पाउनुपर्ने माग समेत गरेका छन् । नेपाल सरकारले स्वदेश फर्कने वाताबरण बनाए आफुहरु डब्लुएचओ र सरकारी मापदण्ड पालना गरी आवश्यकतानुसार क्वारेन्टिनमा समेत बस्न तयार रहेको उनीहरुको भनाई छ । अमेरिका बसाई लम्बिदै गर्दा खर्च समेतको अभाव रहेको पीडित नेपालीहरुले गुनासो गरेका छन् । अहिले नेपाल फर्किन पाउनुपर्ने माग राख्ने नेपालीहरुको संख्या अमेरिकामा करिब २ सयको हाराहारीमा रहेको अमेरिकामा रहनुभएका नेपाली पत्रकार ध्रुव कुवँरले जानकारी दिनुभयो ।
यसैबीच, बतास अर्गनाइजेशनले अमेरिकामा रहेर स्वदेश फर्कन चाहनेहरुको लगत संकलन गरिरहेको बताईएको छ । अर्गनाईजेसनका निर्देशक शान्तराज बतासका अनुसार नेपाल फर्कन चाहनेले यो फर्ममा आफ्नो सुचना दिन सक्नेछन् । अमेरिकामा रहेका नेपालीहरुले आधिकारिक संख्या प्राप्त भएपछि उक्त विवरण दुताबासमार्फत नेपाल सरकारलाई पठाउने तयारी गरिएको छ ।