कोरोना भाइरस सङ्क्रमणबाट जोगिन गरिएको लकडाउन अझै प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सवारी पासमा कडाइ गरेको छ । प्रशासनले आज एक सूचनामार्फत मृत्यु संस्कारमा सहभागी हुन जाने व्यक्तिका लागि मात्रै ई– पास उपलब्ध गराउने जनाएको छ ।
सूचनामा उल्लेख भएअनुसार सवारी ई-पास पेस भएको प्रमाणका आधारमा परिवारका सदस्यको मृत्यु संस्कारमा सहभागी हुन जाने व्यक्तिलाई मात्र प्रदान गरिने जनाइएको छ । सवारी पास लिने अत्याधिक भएपछि त्यसको व्यवस्थापन गर्न उक्त निर्णय लिइएको कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञान ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार ई– पासका लागि एक हजार ६ सयले निवेदन दिएका छन् ।
अन्य सामान्य विषयका लागि ई–पास प्रणालीमा अनुरोध नगरिदिन समेत ढकालले आग्रह गर्नुभएको छ । लकडाउन थप प्रभावकारी बनाई कोभिड– १९ को सङ्क्रमण रोकथाम र नियन्त्रणमा सहयोग गर्न आग्रहसहित सूचना जारी गरिएको उहाँले बताउनुभयो । जिल्ला प्रशासन कार्यालय कास्कीले गृह मन्त्रालयको निर्देशनलाई समेत ध्यान दिँदै आजदेखि ई–पासको सुरुवात गरिएको ढकालको भनाई छ ।
