अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:०१ | Colorodo: 01:16

मुलुकका ६९ जिल्लामा र्यापिड किटबाट कोरोनाको परीक्षण, २४७ जना कोरोनाको रेड जोनमा

बिआरटीनेपाल २०७७ वैशाख ४ गते ६:३१ मा प्रकाशित

सरकारले कोरोना संक्रमण भए/नभएको तत्काल निवारणका लागि अपनाएको द्रुत परीक्षण र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) ६९ जिल्लामा पुर्याएको छ । भारत र अन्य मुलुकबाट आएका, क्वारेन्टाइनमा बसिरहेका व्यक्तिको रगत संकलन गरी परीक्षण गरिने आरडीटीलाई उच्च प्राथमिकता दिई आजसम्म ६९ जिल्लामा पुर्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज आयोजित नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिनुभएको हो । देवकोटाका अनुसार विभिन्न जिल्लामा गरिएको आरडीटीमा कोरोना पोेजेटिभ भएका केस देखिएका छन् । सोही आधारमा आरडिटी परीक्षणको दायरा बढाइएको हो । उहाँले अहिलेसम्म कोरोना संक्रमितको संख्या १६ जना मात्रै रहेको र एक जना उपचारपछि घर फर्किएको जानकारी दिनुभयो ।

आरडीटीमा पोजिटिभ देखिएका व्यक्तिको संख्या बढेको तर अन्तिम परीक्षणमा संख्या नबढेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार पोजेटिभ देखिएका केसलाई थप परीक्षणका स्वाब परीक्षण गर्नुपर्ने हुन्छ । त्यसका लागि पीसीआर विधिबाट पुनः परीक्षण गरिन्छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणमा पनि कोरोना भाइरस पोजिटिभ भेटिएपछि मात्र पुष्टि भएको मानिने छ ।

सरकारले कोरोना संक्रमण निश्चित गर्न दुईवटा परीक्षण विधि अपनाएको छ । तीमध्ये आरडीटी विधिलाई पहिलो प्राथमिकता दिइएको हो । आरडीटीभन्दा विश्वसनीय र भरपर्दो दोस्रो विधि पीसीआर हो । आरडीटी परीक्षणमा पोजिटिभ देखिएका व्यक्तिको स्वाबको नमुना परीक्षण गरिन्छ ।

देवकोटाका अनुसार हाल मुलुकभर ४ हजार ९ सय १ जना क्वारेन्टाइन रहेका छन भने १०३ आइसोलेशनमा रहेका छन । जसमध्ये उपत्यकामा ८ जना र उपत्यका बाहिर ९५ जना रहेका छन । हालसम्म कोरोनाको रेडजोनमा हुनेको संख्या २ सय ४७ पुगेको देवकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय