नेपाली काँग्रेसले दैनिक ज्यालादारी, असङ्गठित क्षेत्रका श्रमिक र आफ्नो घर पुग्न लामो पैदल यात्रारत नागरिकका लागि बसोबास तथा खानपिनको उचित व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । नोबेल कोरोना भाइरस अर्थात कोभिड–१९ जोखिम हुन नदिन बन्दाबन्दी जारी रहेपछि विशेष गरी मजदुर वर्गका नागरिकलाई धेरै समस्या परेको भन्दै काँग्रेसले उनीहरूको व्यवस्थापन गर्न माग गरेको हो ।
काँग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले आज एक विज्ञप्ति निकालेर कोरोना भाइरसको जोखिमलाई बढ्न नदिन लामो समय बन्दाबन्दीको घोषणा गरिए पनि उचित व्यवस्थापन गर्न नसकेका कारणले जनता पीडामा रहेका बताउनुभएको छ । उहाँले सरकारले कोभिड–१९ को जोखिम न्यूनीकरण, रोकथाम तथा उपचारको व्यवस्थापनका लागि पर्याप्त समय पाउँदा पनि जनताको सुरक्षाका लागि प्रभावकारी तयारी गर्न नसकेको तथा स्वास्थ्यसामग्री तथा उपकरण खरिद व्यवस्थापनमा ढिलाइ भएको आरोप लगाउनुभएको छ ।
