अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१७ | Colorodo: 13:32

ड्युटीपछि अस्पतालबाट फर्किएका डाक्टरमाथि प्रहरीद्वारा निर्घात कुटपिट, घटना छानविन गर्न समिति गठन

बिआरटीनेपाल २०७७ वैशाख ३ गते २२:२७ मा प्रकाशित

अस्पतालमा ड्युटी सकेर घर फर्किरहेका तीनजना डाक्टरलाई प्रहरीले गएराति कुटपिट गरेको छ। अस्पतालको ड्युटी सकेर परिचयपत्र लगाएरै घर फर्किरहेका अवस्थामा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका तीन जना डाक्टरलाई प्रहरीले कुटपिट गरेको हो। कोठा फर्किने क्रममा त्रिवि शिक्षणअस्पतालका आवासीय चिकित्सक डाक्टर, शम्भु खनाल, तेजप्रकाश साह र विकास शाहलाई प्रहरीले लात्ती हान्दै लाठीचार्ज गरेको राष्ट्रिय आवासीय चिकित्सक संघले विज्ञप्ति निकालेर जानकारी गराएको छ।

संघले चिकित्सकमाथि कुटपिटमा संलग्न भनिएका प्रहरीमाथि कारवाही माग गरेको छ। चिकित्सक खटिएको क्षेत्रमा महानगरीय प्रहरी वृत महाराजगञ्जको टोली खटिएको थियो। महाराजगञ्जका डिएसपी उमेश लमसालले भने प्रहरीबाट कुटपिट भएको जानकारी आफूलाई नआएको बताउनुभएको छ । त्यसैगरी रेसिडेन्स एसोसिसयन अफ न्याम्सले पनि बिहीबार एक विज्ञप्ति निकाल्दै डाक्टरहरुमाथि भएको कुटपिटको निन्दा गर्दै घटनाको छानबिन गरी दोषीमाथि कडा कारवाही माग गरेको छ। शिक्षण अस्पताल डाक्टरमाथि कुटपिटको घटना छानबिन गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले तीन सदस्यीय छानबिन समिति बनाएको छ।

तीन डाक्टरले प्रहरीबाट आफूहरुमाथि कुटपिट गरेको आरोपसहित फोटो पनि सार्वजनिक गरेपछि महानगरीय प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) किरण बज्राचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको हो। यो समितिमा महानगरीय अपराध महाशाखाका एसपी मुकेश सिंह र महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटी रहनुभएको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआइजी विश्वराज पोखरेलले घटनाको छानबिनका लागि समिति बनाइएको जानकारी दिँदै दोषी देखिए कारवाही गरिने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय