अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोना भाइरस महामारीको उच्च तह पार गरेको दाबी गर्नुभएको छ । महामारीको उच्च तह पार गरिसकेका केही राज्य यहि अप्रिल महिनाबाटै खुला हुने उहाँले बताउनुभयो । कोरोनाका कारण सबैजसो अमेरिकी राज्य लकडाउनमा छन् ।
ह्वाइट हाउसमा पत्रकारहरुसँग कुराकानी गर्दै ट्रम्पले बजार तथा सार्वजनिक गतिविधि सञ्चालन गर्ने सम्बन्धी नयाँ निर्देशन बिहीबार जारी गरिने जानकारी दिनुभो । “हामी चाँडै फर्किँदै छौँ, हामी सबै । हामी हाम्रो देशलाई फेरि सामान्य अवस्थामा ल्याउँछौँ ।”–उहाँले भन्नुभयो । ट्रम्पले थप्नुभयो, ‘तथ्यांकहरुले यो बताइरहेको छ कि हामीले देशभर नै महामारीको उच्च तह पार गरिसक्यौं । नयाँ संक्रमणको उच्च तहबाट हामी गुज्रिसकेका छौँ । आशा छ यो क्रम जारी रहने छ र हामीले महामारीविरुद्ध राम्रो प्रगति जारी राख्ने छौँ ।’
कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा अहिलेसम्म २८ हजार ५ सयभन्दा बढीको मृत्यु भैसकेको छ भने संक्रमितको संख्या ६ लाख ४४ हजार नाघेको छ । ३२ लाखभन्दा बढी अमेरिकीले कोरोना भाइरसको संक्रमण रहे–नरहेकोबारे परीक्षण गरेको दाबी गर्दै ट्रम्पले यी सबै तथ्यहरुले केही राज्य चाँडै नै सामान्य अवस्थामा फर्काउन मिल्ने देखिएको बताउनुभयो । यसअघि ट्रम्पले आउँदो मे १ सम्ममा लकडाउन अन्त्य गर्न सकिने अनुमान गरिएको बताउनुभएको थियो ।