अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:२१ | Colorodo: 10:36

लकडाउनको आज २४ औं दिन, थप कडाइ, बाहिर निस्कनेलाई मुद्दा चलाइने

बिआरटीनेपाल २०७७ वैशाख ३ गते २२:१८ मा प्रकाशित

आज मुलुकमा गरिएको लकडाउनको २४ औं दिन । सरकारले लकडाउन उल्लंघन गर्नेमाथि आजदेखि थप कडाई गर्ने भएको छ । बुधबार बसेको कोभिड– १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनलाई थप कडाइ गर्ने निर्णय गरेको हो । समितिका प्रवक्ता नारायणप्रसाद बिडारीका अनुसार बैठकले लकडाउन कार्यान्वयनमा थप कडाइ गर्ने र नमान्नेलाई मुद्दा चलाउने समेत निर्णय गरेको छ । संक्रमणको दर बढ्दै गएपछि लकडाउनमा कडाइ गर्न लागिएको हो ।

समितिकै बैठकले संक्रमण फैलिन नदिन लकडाउनलाई प्रभावकारी बनाउन अनावश्यक आवागमन गर्नेलाई ‘संक्रमण रोग ऐन–२०२०’ अनुसार थुनामा राख्ने सम्मको कारबाही गरिने निर्णय गरेको हो । ऐन अनुसार संक्रमण रोग नियन्त्रणमा बाधा पुर्याउनेलाई १ महिनासम्म कैददेखि सय रुपैयाँ जरिवानाको व्यवस्था छ भने अधिकृत व्यक्तिहरूलाई काममा बाधा पुर्याउनेलाई ६ महिनासम्म कैद वा ६ सयसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ ।

त्यस्तै जोखिम बढ्दै गएको निष्कर्ष निकाली परीक्षण पहिचान र उपचारलाई प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय पनि समितिले गरेको छ । सवारीसाधन सञ्चालन पास पनि थप कडाइ गरिने भएको छ । कडाउनका वेला अत्यावश्यक कामका लागि भनेर लिइएको सवारी पास दुरुपयोग गर्ने १ हजार ८ सय ४६ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही समेत गरिसकेको छ । मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनको अवधि १२ थपेर १५ गतेसम्म लम्ब्याएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय