कोरोना भाइरस संक्रमणप्रति सतर्कता अपपाउन मुलुकमा लकडाउन भएको बुधबार २३ औं दिन पुगेको छ । २३ औं दिन देशका प्रमुख शहरहरु लगायतका स्थानहरु अपेक्षाकृतरुपमा सुनसान रहेका छन् । सरकारले लकडाउनको पूर्ण रुपमा पालना गराउन सुरक्षा संयन्त्रलाई परिचालन गरेको छ ।
लकडाउनको २३ औं दिनसम्म आईपुग्दा मुलुकका अधिकांश स्थानमा द्रुत परिक्षण पद्धतिमार्फत कोरोना संक्रमणको जाँच भएको छ । यस्तो जाँचमा मुलुकका विभिन्न स्थानमा संक्रमण फेलापरेपछि आम जनजीवनमा त्रास फैलिएको छ । कोरोना संक्रमण फैलने डरले मानिसहरु घर बाहिर निस्किएका छैनन् ।
पोखरामा लकडाउनको समयाबधि लम्बिदै गर्दा सडकमा मानिसहरुको चहलपहल भने विगतका दिनको तुलनामा बढेको पाईएको छ । यद्यपि, सुरक्षाकर्मीहरुले मानिसहरुलाई बाहिर ननिस्कन र आवश्यक सचेतना अपनाउन आग्रह गर्दै आएका छन् । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै बुधबार सम्म कायम गरिएको लकडाउनलाई मंगलबार नै सरकारले १२ दिन समय थप गरी वैशाख १५ गते सम्म लम्ब्याएको छ ।
प्रशासनले पास वितरणमा समेत कडाई गरेको छ । सडकमा अत्यावश्यक सामग्रीको ढुवानी गर्ने र अत्यावश्यक काम पर्नेहरुका साधन फाट्टफुट्ट चलेको देखिन्छ । प्रहरीले चोकचोकमा बसेर ती साधनको नियमित चेकजाँच गरिरहेका छन् ।
