निलम्बित भएको श्रीलंकास्थित चिनियाँ दूतावासको आधिकारिक ट्वीटर एकाउन्ट पुनः सक्रिय भएको छ। ट्वीटरको नियम उल्लंघन गरेकाले एकाउन्ट निलम्बित गरिएको ट्वीटरले जनाएको थियो। एकाउन्ट सक्रिय बनाउनका लागि दूतावासले ट्वीटरमा अपिल गरेको थियो । सोही अपिल अनुसार एकाउन्ट पुनः सुचारु भएको हो ।
दूवतासले आफूहरुले सबै नियम पालना गरेको र ट्वीटरले एकाउन्ट बन्द गरेर गल्ती गरेकाले त्यसलाई सच्याइ एकाउन्ट पुनः सक्रिय बनाएको दाबी गरेको छ । चीनको नियम ट्वीटरले पनि पालना गर्ने अपेक्षा रहेको बताइएको थियो । यसअघि एकाउन्ट निलम्बित गर्नुको विस्तृत विवरण भने खुलाइएको थिएन ।
केही दिनअघि मात्रै चिनियाँ दूतावासको ट्वीटर एडमिन केही ट्वीटर प्रयोगकर्ताहरुसँग वाकयुद्धमा सामेल भएको थियो । चीनको लापरवाहीका कारण कोरोना भाइरसको महामारी फैलिएको भन्ने अभियोगका विषयमा विवाद भएको थियो । त्यसविषयमा भएको विवादको क्रममा ट्वीटरमा वाकयुद्ध गर्दा चिनियाँ दूतावासले गैरकूटनीतिक भाषाको प्रयोग गरेको अभियोग छ ।
अघल्लो हप्ता चिनियाँ दूतावासले कोरोना भाइरसको महामारी फैलिनुमा चीनको लापरवाही कारक रहेको भन्ने दुई व्यक्तिको टिप्पणी प्रकाशित गर्ने श्रीलंकाको प्रमुख पत्रिकाको आलोचना गरेको थियो ।