प्रतिनिधिसभामा निर्वाचित सांसदहरूले पाउने विकास बजेट कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा राख्न संसद्मा सहमति जुटेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा यस्तो सहमति जुटेको हो । बैठकमा प्रतिनिनिधसभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतक, सभामुख, सङ्घीय संसद्का कार्यवहाक महासचिव, सचिवलगायतको उपस्थिति थियो ।
सभामुख अग्नीप्रसाद सापकोटाले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको चालु आर्थिक वर्षको खर्च हुन बाँकी रकम र आगामी आर्थिक वर्ष २०७७/०७८ को रकम कोरोना कोषमा राख्नेबारे सहमति भएको जानकारी सरकारलाई गराउनुहुने छ ।
यसैबीच प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण सिर्जित विषम परिस्थितिमा सातै प्रदेशमा परेको प्रभाव र भइरहेको तयारीका विषयमा फोनबाट सातै प्रदेशका सभामुखहरूसँग छलफल गर्नुभएको छ ।
लकडाउन अर्थात् बन्दाबन्दीपछि प्रदेशको समग्र अवस्था, कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेशले गरिरहेका काम, स्वास्थ्य सामग्री र स्वास्थ्यकर्मीको उपलब्धताबारे छलफल भएको थियो । सङ्घ, प्रदेश तथा स्थानीय तहबीचको समन्वय र आगामी दिनमा अङ्गीकार गरिने नीतिका विषयमा पनि छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
