नेपाली सेनाले चीन र भारतबाट कोभिड– १९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका अत्यावश्यक १२० प्रकारका मेडिकल सामग्री ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति पाएको छ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोभिड– १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)को सिफारिसका आधारमा नेपाली सेनाले रक्षामन्त्रालयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग त्यस्ता सामग्रीका लागि स्वीकृति मागेको थियो।
सरकारी उच्चस्रोतका अनुसार मेडिकल सामग्री ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृति दिएसँगै चीन र भारतबाट त्यस्ता सामग्री ल्याउने बाटो नेपाली सेनाका लागि खुलेको छ। यो स्वीकृतिसंगै नेपाली सेनाले चीन र भारतबाट कोभिड–१९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका अत्यावश्यक मास्क, पञ्जा, चस्मा, गाउनलगायत १२० प्रकारका सामग्री ल्याउने कसरत तिब्र पारेको हो। चीन र भारत सरकारका उच्चअधिकारीहरुबाट त्यस्ता सामग्री दिने आश्वासन अनौपचारिकरुपमा पाएपछि नेपाली सेनाले रक्षामन्त्रालयमार्फत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिएको हो।
नेपाली सेनालाई चीनले ६७ र भारतको ५३ प्रकारका सामग्री दिने आश्वासन दिएका छन्। यसलाई कार्यान्वयन गर्नका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित मुलुकलाई दूतावासमार्फत पत्राचार गर्ने छ । सेनाले यी दुई छिमेकी मुलुकसँगै दक्षिण कोरिया, इजरायल र सिंगापुरबाट पनि मेडिकल सामग्री ल्याउने प्रयास जारी राखेको छ। स्वास्थ्य सेवा विभागले कोभिड– १९ संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका अत्यावश्यक मेडिकल सामग्री खरीद प्रक्रिया अघि बढाइरहेका बेला गत चैत्र १६ गते मन्त्रीपरिपरिषदले त्यस्ता सामग्री खरीदको जिम्मा नेपाली सेनालाई पनि दिने निर्णय गरेको थियो।