मुलुकमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा कैलाली लम्कीकी एक ६५ बर्षीया महिला र रौतहटको क्वारेन्टाइनमा रहेका एक १९ बर्षीय युवकमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।
मन्त्रालयमा सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता विकास देवकोटाले यसबारे जानकारी दिदै उनीहरुको सम्पर्कमा रहेकाहरुको कन्टयाक्ट ट्रेसिङ भइरहेको जानकारी दिनुभएको छ । कैलालीको लम्कीकी एक महिलामा गरिएको दोस्रो परीक्षण पोजेटिभ भेटिएपछि उनको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको डा. देवकोटाले जानकारी दिनुभयो ।
यस्तै रौतहटको क्वारेन्टाइनमा रहेका एक १९ बर्षीय युवकको परीक्षण पनि पोजेटिभ देखिएकोले उनको पनि उपचारको व्यवस्था मिलाइएको प्रवक्ता देवकोटाले बताउनुभयो । संक्रमित युवाको बारेमा थप जानकारी भने दिईएको छैन । उहाँले पछिल्लो पटक पोजेटिभ देखिएको दुई जनाको सम्कर्पमा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङको कार्य द्रुत गतिमा भइरहेको जानकारी पनि दिनुभयो ।
प्रवक्ता देवकोटाले बीरगञ्जमा पोजेटिभ भेटिएका तीन जनाको सम्पकर्ममा रहेकाहरुको कन्ट्याक्ट ट्रेसिङको कार्य तीब्र पारिएको भन्दै २४ जनाको परीक्षण कार्य सम्पन्न भएको र केहीको बाँकी रहेको जानकारी दिनुभयो । यस क्रममा पर्सा जिल्लाको छपकैयामा पनि र्यापिड किट टेष्टबाट परीक्षण तीब्र पारिएको जानकारी पनि देवकोटाले दिनुभयो । उहाँका अनुसार आज सम्ममा कुल ५ हजार ६ सय ९१ को परीक्षण भइसकेको र र्यापिड टेष्टलाई सबै प्रदेश र जिल्लामा तीब्र पारिएको छ ।
