भारतीय सञ्चारमाध्यमहरुले पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँमाथि भारतमा कोरोना संक्रमित व्यक्ति घुसाएको आरोप लगाएका छन्। भारतीय टेलिभिजनहरुले जगरनाथपुर गाउँपालिकाका अध्यक्ष मियाँमाथि भारतमा कोरोना संक्रमित ४०÷५० जना व्यक्तिहरुलाई घुसाएको आरोपसहितका खबर प्रसारण गरेका हुन् ।
भारतीय टेलिभिजन टिभी ९ र न्युज १८ ले मियाँले भारतमा कोरोना संक्रमित व्यक्तिहरुलाई पठाएको आरोपसहितको खबर प्रसारण गरेका छन् । बिहारको पश्चिमी चम्पारण बेतियाका जिल्ला पदाधिकारी कुन्दन कुमारले लेखेको पत्रलाई आधार मान्दै भारतीय टेलिभिजनले नेपालको जगरनाथपुर गाविसका जालिम मुखियाले भारतमा कोरोना संक्रमित ४०/५० जना व्यक्ति घुसाएको आरोपसहितको खबर प्रसारण गरेका हुन्। जिल्ला पदाधिकारी कुन्दन कुमारले लेखेको पत्रमा जालिम मुखियाले भारतमा कोरोना महामारी फैलाउने योजना बनाइरहेको पनि उल्लेख छ।
यसैबीच, कोरोना भाइरस संक्रमितलाई भारतमा घुसाएको आरोप सहितको खबर प्रसारण भएपछि गाउँपालिकाका अध्यक्ष मियाँले आफ्नो राजनितिक चरित्र हत्या गर्नको लागि षडयन्त्र भइरहेको प्रतिक्रिया दिनुभएको छ । जगरनाथपुर गाउँपालिका नामक फेसबुक आइडीबाट जारी गरिएको अध्यक्ष मियाँको भिडियोमा उहाँले भारतीय टिभी च्यानलले प्रसारण गरेको खबर गलत रहेको पनि बताउनुभयो । यस बिषयमा पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकलाई पनि जानकारी गराएको मियाँले बताउनुभयो ।
