त्रिभुवन विश्वविद्यालयले विश्वव्यापी महामारीको रुप लिइरहेको कोभिड–१९ सम्बन्धी अनुसन्धान गर्ने भएको छ। उपकुलपति धर्मकान्त बाँस्कोटाले अनुसन्धानका लागि विश्वविद्यालयले प्रस्ताव तयार गरेको जानकारी दिनुभएको छ । नेपाल र अन्य मुलुकबीचको कोरोना भाइरोलोजीका विषयमा अध्ययन गर्नेबारे छलफल भइरहेको बाँस्कोटाले बताउनुभयो ।
सरकारले आवश्यक ठानेको खण्डमा कोभिड–१९ को परीक्षणमा त्रिविसँग भएका प्रयोगशाला प्रयोग गर्न सकिने बताईएको छ । त्रिविसँग कोरोना परीक्षणका लागि चाहिने ३ वटा आरटी–पीसीआर मेसिन छन्। तत्कालै ’हाई लेभल रिसर्च’ गर्न नसकिए पनि कोरोनाले पार्ने सामाजिक, आर्थिकलगायत अन्य क्षेत्रको अनुसन्धानमा जुट्ने विश्वविद्यालयले जनाएको छ ।
उपकुलपति बाँस्कोटाले यसअघि नै छिमेकी मुलुक र पश्चिमी मुलुकमा फैलिएको कोरोना भाइरसको तुलनात्मक अध्ययन गरी भविष्यमा यसका लागि स्थिर विधि पत्ता लगाउन विश्वविद्यालयका सम्बन्धित केन्द्रीय विभागहरुलाई निर्देशन दिनुभएको थियो । माइक्रो बायोलोजी, बायोटेक्नोलोजी र भौतिकशास्त्र विभागलाई अनुसन्धानको जिम्मा दिइएको र रसायनशास्त्र विभागलगायत यसैमा समेटिने उहाँको भनाइ छ।
परीक्षणका क्रममा त्रिविका प्रयोगशालाहरुमा उच्च स्वास्थ्य सामग्री उपकरण, मास्क तथा पीपीई भने सरकारले उपलब्ध गराउनुपर्ने त्रिविको माग छ। यस्तै, कोभिड–१९को सन्दर्भमा धेरैभन्दा धेरै परीक्षण गर्नपर्ने र राज्यले विश्वविद्यालयको विज्ञ तथा अनुसन्धाकर्ताहरुलाई पनि प्रयोग गर्न सक्ने बाँस्कोटाले बताउनुभयो । त्रिविमा पीसीआरसम्बन्धी र मेडिकल बायोलोजीमा विद्यावारिधि गर्ने एक दर्जनभन्दा बढी जनशक्ति छ। बायो टेक्नोलोजी र माइक्रो बायोलोजी विभागमा मात्रै करिब २ सय जनशक्ति रहेको बताईन्छ ।
