मुलुकमा अहिलेसम्म कुल ३ हजार ५ सय २४ जनाको कोरोना परिक्षण भएको छ । विगत २४ घण्टामा कोभिड १९ सङ्क्रमितका आशङ्का गरिएकाहरूको कुल ६ सय ३० वटा नमुना परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण फेला नपरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले जानकारी दिनुभयो ।
वितेको २४ घण्टामा काठमाडौँमा ४ सय १ नमुना परीक्षणको रिर्पाेट आएको र काठमाडौँ बाहिर २ सय २९ वटा स्वाब नमूनाको रिर्पोट आएकोमा सबैमा सङ्क्रमण नभएको उहाँले जानकारी दिनुभयो । डा. देवकोटाका अनुसार कैलाली, कञ्चनपुर, कपिलवस्तु र बागलुङमा हालसम्म गरिएको परीक्षणमा कोरोना संक्रमण नदेखिएको हो ।
जसमा कैलालीमा ३३९, कञ्चनपुरमा ३७ , कपिलवस्तुमा २१ र बागलुङमा १९ जनाको परीक्षण गर्दा नतिजा ‘नेगेटिभ’ आएको हो । अहिले डडेलधुरामा १९९, बैतडीमा ४२५ र कर्णालीमा ७५ जनाको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण भइरहेको डा. देवकोटाले जानकारी दिनुभयो ।
शुक्रबार कोशी अञ्चल अस्पतालबाट समेत परीक्षण सुरु भएसंगै काठमाडौंसहित देशका ११ स्थानबाट परीक्षण भइरहेको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार देशभर ११५ जना ‘आइसोलेसन’मा रहेका छन् ।
