अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले आफूलाई मजाक बनाएको आरोप लगाउनुभएको छ । कोरोना भाइरसको महामारी फैलिरहेका बेला अमेरिकालाई गलत सुझाव दिएर आफूहरुलाई मजाक गरेको आरोप लगाउनुभएको हो ।
उहाँले ह्वाईट हाउसमा पत्रकार सम्मेलन गर्दै ट्रम्पले डब्लूएचओले धेरै रकम अमेरिकासँग लिएको तर अमेरिकालाई नै मजाक बनाएको टिप्पणी गर्नुभयोे । विश्व स्वास्थ्य संगठनमा अमेरिकाको ठूलो लगानी भए पनि ऊ चीन केन्द्रित भएको ट्रम्पको भनाई थियो ।
यसअघि संगठनले कोरोना रोकथाममा चीनले राम्रो काम गरेको प्रतिकृया दिएको थियो । यसको केही दिन नबित्दै राष्ट्रपति ट्रम्पले स्वास्थ्य संगठनको कडा आलोचना गर्नुभएको हो । महामारी फैलिन सुरु गर्दै गर्दा संगठनले सीमा खुला राख्नुपर्छ भनेर गलत सुझाएको भन्दै पत्रकार सम्मेलनमा ट्रम्प आक्रामक बन्नुभएको थियो । उहाँले भन्नुभयो– ‘हामीलाई यस्तो गलत सुझाव किन दिइयो ? तर हामीले संगठनको सुझाव नमानेर ठिक गर्यौं ।’
चीनको वुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरका कारण विश्वभर बुधबार बिहानसम्म ८२ हजारभन्दा बढीको ज्यान गइसकेको छ । जसमा अमेरिकामा मात्रै १२ हजार ८ सयभन्दा बढीको ज्यान गइसकेको छ । सबैभन्दा बढी संक्रमित पनि अमेरिकामै रहेका छन्, जहाँ ४ लाखभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।