क्याथोलिक चर्चका सर्वोच्च पादरी (कार्डिनल) जर्ज पेल जेलबाट रिहा भएका छन् । बालयौन दुराचार सम्बन्धी मुद्दामा अस्ट्रेलियाको सर्वोच्च अदालतले यसअघिको फैसला खारेज गरेसँगै कार्डिनल जर्ज पेल रिहा भएका हुन् । अस्ट्रेलियाको सर्वोच्च अदालतले पेलमाथि लागेको बालयौन दूराचारको अभियोग खारेज गरेको छ।
७८ वर्षका पेल बालयौन दुराचारको अभियोगमा जेल जाने क्याथोलिक चर्चका अहिलेसम्मका ठूला पादरी हुन्। सन् २०१८ मा जुरीले सन् १९९० को दशकमा कार्डिनल पेललाई मेलबर्नका दुई बालकमाथि यौन दुराचार गरेको अभियोगमा दोषी ठहर गरेको थियो ।
तर अस्ट्रेलियाको सर्वोच्च अदालतले मंगलबार सो फैसला खारेज गरेको हो । यसको अर्थ कार्डिनल पेल तत्कालै जेलबाट रिहा हुने छन् । उनीमाथि ६ वर्षको जेल सजाय भएको थियो । कार्डिनल पेलमाथि सन् २०१७ मा प्रहरीले अभियोग दर्ता गरेको थियो । तर उनले लगातार अभियोग अस्वीकार गर्दै आएका थिए ।