अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:४८ | Colorodo: 01:03

भारत मुम्बईको वोकहर्ट अस्पतालका २६ जना नर्स र तीन जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि

बिआरटीनेपाल २०७६ चैत २४ गते २२:१४ मा प्रकाशित

भारतको मुम्बईमा रहेको वोकहर्ट अस्पतालका २६ जना नर्स र तीन जना डाक्टरमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पताललाई प्रतिबन्धित क्षेत्र घोषणा गरिएको छ । अस्पताल बन्द गरिएको छ । अहिले अस्पतालमा रहेका अरु कर्मचारीको पनि कोरोना भाइरस (कोभिड १९) परीक्षण भइहेको र उनीहरुको रिपोर्ट आएपछि मात्रै अस्पताल खोल्ने वा नखोल्ने भन्नेबारेमा प्रशासनले निर्णय गर्ने समाचार संस्था एएनआईले जनाएको छ ।

सङ्क्रमण पुष्टि भएका नर्स र डाक्टरलाई अधेरीको एउटा अस्पतालमा उपचारको लागि लगिएको छ । अस्पतालमा भर्ना भएका एक सङ्क्रमितबाट नर्समा र नर्सबाट अरु कर्मचारीमा सङ्क्रमण फैलिएको हुन सक्ने आशङ्का गरिएको छ । यसबारेमा अनुसन्धानको लागि निर्देशन पनि दिइसकिएको छ । अहिलेसम्म २ सय ५० जनाको कोरोना परीक्षणको लागि नमुना सङ्कलन गरिएको छ । भारत मध्य प्रदेशको राजधानी भोपालमा पूरै लकडाउन लागु भएको छ । शहरको सडकमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

औषधि पसल, दूध र ग्यास पाइने निकाय मात्र खुल्न दिइएको छ । स्थानीय प्रशासनले तरकारी र किराना पसल पनि बन्द गराएको छ । केन्द्र सरकारको निर्देशन विपरीत अत्याश्यक सामान पाइने पसल पनि बन्द गरिएको खबरमा उल्लेख छ । भोपालमा सोमबार एकैदिन १४ जनामा कोरोना पुष्टि भएपछि लकडाउनको घोषणासँगै कडा प्रतिबन्ध लगाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू