प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सन्देश जारी गर्नुहुने भएको छ । आफ्नो पार्टीको उच्चतहबाट कोभिड–१९ सँग सम्बन्धित मेडिकल सामग्री खरीदमा सरकारले भ्रष्टाचार तथा अनियमितता गरेको भन्दै असन्तुष्टि पैदा भएपछि मगंलबार केन्द्रीय सचिवालय बैठक बोलाए पनि त्यो भन्दा अगावै विहान ११ बजे उहाँले राष्ट्रका नाममा सन्देश जारी गर्ने बताईएको छ ।
सोमबार मात्रै प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रीपरिषद बैठकले थप ८ दिन लकडाउनको समयअवधि बढाउने र संसदका दुबै अधिवेशन स्थगनका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। मेडिकल समाग्री खरीदमा भएको भ्रष्टाचार तथा अनियमितता, त्यस्ता सामग्री खरीदको जम्मेवारी नेपाली सेनालाई दिने निर्णय लगायत विषयमा पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतले त्यसबारे छलफल गर्न केन्द्रीय सचिवालय बैठक आग्रह गरेको पाँचौ दिन मगंलबार ४ बजे ओलीले उक्त बैठक बोलाउनुभएको छ ।
पार्टीको उच्च स्रोतका अनुसार केन्द्रीय सचिवालय बैठक अगावै प्रधानमन्त्री ओलीले आफ्ना कुराहरु एकतर्फीरुपमा राष्ट्रका नाममा सन्देशमार्फत बाहिर ल्याउने र सचिवालय बैठकमा हुने सम्भावित विरोधलाई औपचारिकतामा सिमित गर्ने रणनीति अपनाएको बुझिएको छ । मगंलबारको केन्द्रीय सचिवालय बैठकमा प्रचण्ड लगायत सदस्यहरुले सरकारका पछिल्ला विवादास्पद निर्णयहरुबारे सरकारसँग स्पष्टीकरण लिने तयारी समेत गरेका छन् ।
