नेपाल सरकार गृहमन्त्रालयले कोभिड–१९ को आधिकारिक सूचना र क्वारेन्टाइन अनुगमन प्रणालीको अनुगमन एकैसाथ गर्ने भएको छ । मोबाइल एप्समार्फत यस्तो सेवा थालिएको गृहमन्त्रालयले जनाएको छ । यसलाई ‘कोभिड–१९ एकीकृत सूचना प्रणाली तथा क्वारेन्टाइन अनुगमन प्रणाली’ नाम दिईएको छ ।
यसरी सूचना प्राप्त गर्न तपाईले एउटा वेबसाइट हेर्नुपर्नेछ । गृहमन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि उक्त वेब सञ्चालनमा ल्याएको हो । ब्राउजरमा गएर लगइन गरेपछि त्यहाँबाट सबै सूचना प्राप्त गर्न सकिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।
उक्त वेबसाइटको गृहमन्त्री रामबहादुर थापाले लगइन गरेर सञ्चालनमा आएको घोषणा गर्नुभयो । मन्त्री थापाले उक्त सूचना प्रणालीले विपद्को सामना गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विश्वले भोगेको महासङ्कटको अवस्थामा नेपालले पनि बेहोर्नुपरिरहेको सन्दर्भमा सञ्चालनमा आएको व्यवस्थित सूचना प्रणालीले विपद्को सामना गर्न मद्दत मिल्ने मन्त्री थापाले बताउनुभयो ।
उक्त वेबसाइटमा मुलुकका ७५ वटै जिल्लाका राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रबाट तथ्याङ्क प्रविष्ट गरी दैनिक विवरण अपडेट हुने छ । मन्त्रालयले क्वारेन्टाइनमा बसेका व्यक्तिको अनुगमनका लागि कोबडी एप्स पनि आजदेखि प्रयोगमा ल्याएको छ । यसअघि क्वारेन्टाइनबाट मानिस भागिरहेका अवस्थामा उक्त एप्सले त्यसको निगरानी गर्नेछ ।
