नेपालमा थप ३ जनामा कोभिड १९ अर्थात नोबेल कोरोना भाइरस संक्रमणको भएको पुष्टि भएको छ । यो संगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ९ पुगेको छ । भारतको मुम्बइबाट फर्किएका कैलालीका २१ वर्ष युवा, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षका पुरुष र यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त कैलालीका ३४ वर्षका महिलामा संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
यो सँगै पहिलो पटक नेपाल भित्रै पहिलो व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ । जसका कारण मुलुक कोरोना संक्रमणको दोश्रो चरणमा प्रवेश गरेको छ । आज नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. बिकास देबकोटाले उनीहरु तिनै जना सहित अर्का एक व्यक्तिको उपचार पनि सेती प्रादेशिक अस्पतालमा भइरहेको जानकारी दिनुभयो । ८ जना नै कोभिड १९ का संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था भने सामान्य रहेको डा. देवकोटाले बताउनुभयो । एक जना भने यस अघि नै निको भएर घर फर्किएका छन् ।
हालसम्म नेपालमा १ हजार ४ सय ४१ जनाको नमूना परीक्षण गरिएको छ । मन्त्रालयका प्रवक्ता डा. देवकोटाले वेबसाईट र एपमा हालसम्म ६५ सय २६ जनाले आफ्नो लक्षण सहित नाम दर्ता गराएकोमा १ सय २६ जना रेड जोनमा रहेको पनि बताउनुभयो । प्रवक्ता देवकोटाले नाम दर्ता गराएकामध्ये १ सय २६ जनाको लक्षण कोरोनासँग मिल्दोजुल्दो भएकाले उनीहरुको कोरोना परीक्षणको काम भइरहेको जानकारी दिनुभयो ।
देवकोटाले मुलुकमा पिपिइ अभाब भइरहेको समयमा पिपिइको दुरुपयोग नगर्न र यस्ता सामग्री लाएर सामाजिक सञ्जालमा पोष्ट नगर्न पनि आग्रह गर्नुभयो । १४ दिन पछाडी पनि कोभिडका लक्षणहरु देखिएकाले अरु केही थप दिन पनि सुरक्षित रुपमा घरमा नै बस्न पनि मन्त्रालयले आग्रह गरेको छ । यो समयमा जति धेरै साबधानि अपनाउन सक्यो, जति धेरै एक्लै बस्न सक्यो उति नै सुरक्षित भइने भएकाले घरमा नै सुरक्षित तवरले बस्न पनि डा. देबकोटाले आग्रह गर्नुभयो । देशभर कोभिड १९ को जाँच गर्ने दर बढाएको पनि उहाँले बताउनुभयो ।
