अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:०१ | Colorodo: 16:16

पोखरामा कोरोना संक्रमण भएको छैन– स्वास्थ्य मन्त्रालय

बिआरटीनेपाल २०७६ चैत २१ गते ७:४० मा प्रकाशित

स्वास्थ्य मन्त्रालयले पोखरामा पछिल्लो समयमा सञ्चारमाध्यममा आएको कोरोना भाइरस संक्रमणको पुष्टि नभएको जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शुक्रबारको मिडिया ब्रिफिङका क्रममा पोखरामा भारतबाट आएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको भनिए पनि त्यो पोजेटिभ नआएको स्पष्ट पार्नुभएको हो ।

पोखरास्थित क्षेत्रीय प्रयोगशालामा ती व्यक्तिमा रिपोर्ट पोजेटिभ देखिएको र टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा थप परीक्षणका लागि पठाइएको प्रदेश ४ का मन्त्री किरण गुरुङले जानकारी दिनुभएको थियो । प्रवक्ता देवकोटाले भने क्षेत्रीय प्रयोगशाला भर्खर सञ्चालनमा आउन थालेकाले पूर्ण नतिजा दिन समय लाग्ने र एकपटक आएको नतिजा क्षेत्रीय प्रयोगशाला र काठमाडौँ दुवैतिर पुनर्परीक्षण गर्नुपर्ने बताउनुभएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले पनि पोखरामा कुनैपनि व्यक्तिको रिपोर्ट हालसम्म पोजिटिभ नआएको दाबी गर्नुभएको छ । केही सञ्चारमाध्यमले गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङको हवाला दिँदै कास्कीमा एकजना व्यक्ति कोरोनाबाट संक्रमित भएको बताएका थिए ।

सामाजिक सञ्जालमा समेत विभिन्न व्यक्तिहरुले आफ्नो ‘स्टाटस’ मा सातौं व्यक्ति कोरोनाबाट संक्रमित भउको र ती ब्यक्ति पोखराको रहेको लेखेका छन् । पोखरामा दुई दिनअघिदेखि कोरोना परीक्षण सुरु भएको हो । पोखरामा आएका नतिजाको पुष्टि गर्न हालसम्म ४ वटा नमुना पुनर्परिक्षणको लागि काठमाडौं पठाइसकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय