विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३० हजार नाघेको छ। आईतवार विहान सम्म कोरोना भाइरसबाट ३० हजार ८सय ७९ जनाको मृत्यु भएको छ भने ६ लाख ६३ हजार ७ सय ४० संक्रमित भएका छन्।
चीनको हुवेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोप यतिबेला संसारभर फैलिएको छ। हालसम्म संयु्क्त राज्य अमेरिका कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित बनेको छ। अमेरिकामा हालसम्म १ लाख २३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ हजार २ सय २७ जनाको मृत्यु भएको छ।
संंक्रमणको हिसाबले अमेरिका सबैभन्दा प्रभावित भएको भएपनि इटाली, स्पेन, चीन, फ्रान्स र इरानमा मृतकको संख्या अमेरिकामा भन्दा धेरै देखिएको छ। मृतकको संख्या हेर्दा इटाली सबैभन्दा बढी प्रभावित मुलुक हो। जहाँ हालसम्म १० हजार भन्दा बढीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ भने ८६ हजार ४ सय ९८ जना संक्रमित भएको पुष्टी भएको छ।
यस्तै चीनमा हालसम्म ८१ हजार ४ सय ३९ जनामा कोरोनाको संक्रमण देखिएकोमा ३ हजार ३ सय जनाको मृत्यु भएको छ। तर पछिल्ला दिनमा चीनमा कोरोनाको प्रभाव कम हुँदै गएको छ। स्पेनमा पनि मृत्यु दर उच्च देखिएको छ। स्पेनमा हालसम्म कोरोनाको संक्रमणबाट ५ हजार २ सय ८२ जनाको मृत्यु भएको छ भने ७३ हजार ७ सय ३५ जना संक्रमित बनेका छन्।
यस्तै जर्मनीमा ५७ हजारभन्दा बढी संक्रमित भएका छन् भने ४ सय ३३ जनाको मृत्यृु भएको छ। फ्रान्समा २ हजार ३ सय १५ जनाको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ भने ३७ हजारभन्दा बढी संक्रमित बनेका छन्। इरानमा हालसम्म ३५ हजार ४ सय ८ जनामा कोरोनाको पुष्टि भएको छ जसमध्ये २ हजार ५ सय १७ जनाको मृत्यु भएको छ। चीनबाट सुरु भएको कोरोनाको महामारीको केन्द्र यतिबेला अमेरिका र युरोपेली देशहरु बनेका छन्।