विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको उच्च जोखिममा रहेका कैदी बन्दीलाई रिहा गर्ने सरकारी निर्णय अनुसार तयार पारिएको सूचीमा ‘सिरियल किलर’ चार्ल्स शोभराजको नाम पनि रहेको खुलेको छ ।
सरकारी निर्णय अनुसार केन्द्रीय कारागारले लकडाउन सुरु हुन पूर्व नै जोखिममा रहेकाहरुको सूची तयार पारेको थियो। त्यसमा ६५ वर्षमाथिका १३ कैदीको नाम समावेश छ। यसमा शोभराज पनि परेका छन् ।
सरकारले एक वर्ष भन्दा कम जेल सजाय भएका तथा संक्रमणको जोखिममा रहेका ६५ वर्षमाथिका कैदीलाई रिहा गर्नका लागि सूची तयार पार्न भनेको थियो ।त्यसै अन्तर्गत केन्द्रीय कारागारले जेलमा रहेका पाको उमेरका कैदीको सूची तयार पार्दा ७५ वर्षका शोभराजको नाम पनि समावेश भएको हो ।
कारागार विभागको निर्देशन अनुसार सूचि तयार पारेको भए पनि रिहा गर्ने प्रक्रिया भने सुरु नभएको जेल स्रोतले जनाएको छ ।सामान्यतयाः गम्भीर प्रकृतिका फौज्दारी मुद्दाका दोषीलाई आममाफी दिने चलन छैन । यस्तै एक महिनाभन्दा बढी जेल सजाय तोकिएका फौज्दारी मुद्दाका दोषीलाई रिहा गर्ने सम्बन्धमा राष्ट्रपतिकै सिफारिस चाहिने व्यवस्था छ।
सन् १९७० को दशकमा एसियाका विभिन्न देशमा कम्तिमा १२ जनाको हत्या अभियोगमा ७५ वर्षका फ्रान्सेली–भारतीय–भियतनामी शोभराज आजीवन कारावासमा छन्।
