प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ नियन्त्रणका लागि सरकारले चालेका सम्पूर्ण कदममा साथ र समर्थन रहेको जनाउँदै १७ वटा सुझाव दिएको छ । कांग्रेसले शुक्रबार कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधानमन्त्रीमन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउँदै तत्काल गम्भीर बन्नुपर्ने विषयमा सुझाव दिएको हो।
प्रतिनिधिसभाका कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा चिकित्सक, नर्स र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) लगायत चिकित्सा र स्वास्थ्य उपकरण, परीक्षण किट तथा अन्य सामग्री विदेशबाट अविलम्ब ल्याउन आग्रह गरिएको छ।
कोभिड–१९ फैलन नदिन लकडाउन (राष्ट्रव्यापी बन्द) अत्यावश्यक भएकाले यसलाई सफल बनाउन सुरक्षा निकाय र प्रशासनलाई सहयोग गर्नु सबै नागरिकको दायित्व भएको पनि कांग्रेसले जनाएको छ। लकडाउन सफल पार्न खटिएका सुरक्षा निकायलाई गुणस्तरीय मास्क र सुरक्षा उपकरणको व्यवस्था गर्न सरकारसँग कांग्रेसले आग्रह गरेको छ।
