गए राति गण्डकी प्रदेशको आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुनसक्ने अनुमान गरिएको छ। नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले प्रेस विज्ञप्ति जारी गर्दै नेपाली आकाशमा देखिएको चम्किलो वस्तु उल्कापिण्ड हुन सक्ने बताउनुभएको छ ।
गएराति करिब ८ बजे तिर नेपाली आकाशमा केही चम्किलो वस्तु सँगसँगै आवाज पनि सुनिएको भन्ने सूचना सोसाईटीलाई प्राप्त भएको जानकारी गराउँदै प्रारम्भिक सूचनाको अनुमान स्वरूप उक्त वस्तु उल्कापिण्ड हुन सक्ने आधार रहेको उसले जनाएको हो । साथै सोसाइटीले प्राप्त जानकारीहरूको आधारमा उल्कापिण्ड गण्डकी प्रदेशमा खसेको हुनसक्ने बताएको छ ।
उसले जहाँ ठूलो आवाज आयो त्यो पिण्ड त्यही खसेको हुनसक्ने हुँदा त्यस्तो भए सोसाइटीलाई खबर गर्न समेत अनुरोध गरेको छ। सोसाइटीका अनुसार उल्कापिण्ड खसेको ठाँउमा क्षति हुने र खसेको ठाउँमा ठूलो आवाज सुनिन्छ । साथै अनुसन्धान गर्न सोसाइटीले आफूसँग प्राप्त भएका तस्विर तथा भिडिओ भए पठाउन समेत अपिल गरेको छ।
