तिमी आज धेरै खुसी भइछौ,
मेरो मन अलि हलुङ्गो भयो ।
बोझ त अझै बोकेकै छु,
एउटा लक्ष्यहीन यात्राको बोझ,
सपना विहीन आँखाहरूको बोझ,
आवाज विहीन धड्कनहरूको बोझ ।
तर तिमी आज खुसी भइछौ,
मेरो मन अलि हलुङ्गो भयो ।
मलाई आफैँ देखि शङ्का लाग्छ,
यो सव नियति हो कि मेरो नियत ?
म ती फूलहरूको बास्ना सुँघ्नै सक्दिन,
म जूनको शीतलतामा रुझ्नै सक्दिन,
म कुनै हृदयको कोमलता महसुस गर्नै सक्दिन,
मलाई आफैँदेखि अविश्वास लाग्छ ।
तर तिमीले नयाँ विश्वास पाइछौ
मेरो मन अलि हलुङ्गो भयो ।
हाड मासुको यो थुप्रो भित्र कतै
स्नायुका नशाहरू त मेरो पनि चल्दो हो ।
तर यस्तो लाग्छ म त केवल एउटा मेसिन हुँ ।
धक धक धक धक…..,
नबन्ने गरी अचानक एक दिन यो मेसिन बिग्रन्छ ।
हो म एक मेसिन,
मलाई तिम्रो साथ हुनु र नहुनुमा केही फरकै छैन ।
तर तिमीले नछुट्ने साथ पाइछौ,
मेरो मन अलि हलुङ्गो भयो ।
कि शायद म एकपछि अर्को गर्दै,
अनगिन्ती नाटकहरू गरिरहेछु ।
तिमीसँगको सामिप्यताको नाटक,
माया प्रेमका अनगिन्ती नाटक,
अनि पछि भावहीनताको नाटक,
एउटा शून्यताको नाटक ।
अहो! म त केवल एउटा पात्र मात्र रहेछु,
अनि तिमीसँग बिताएका पलहरू सबै एउटा पात्रको अभिनय ।
तर तिमीले साँचो माया पाइछौ
मेरो मन अलि हलुङ्गो भयो ।
कि सधैँ ढुङ्गाहरूसँगको दैनिकीले
म पनि साह्रो ढुङ्गा भएछु ।
सुख्खा नदी छेउमा फ्याँकिएको एउटा बेकम्मी डुंगा भएछु ।
अनि सोध्न मन लाग्छ आफैलाई,
के म छु ?
अनि तिमी ?
अहँ तिमी त्यो हुँदै होइन,
समय धेरै दौडिसक्यो,
मैले चाहेको तिमी …. अहिलेको तिमी होइन ।
तर तिमीले चाहना गर्ने पाइछौ,
मेरो मन अलि हलुङ्गो भयो ।