विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९० को संक्रमण फैलिन नदिन जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबारदेखि निषेधाज्ञा (कर्फ्यू) जारी गरेको छ । लकडाउनको अवज्ञा गर्दै सर्वसाधारण घरबाहिर निस्कन थालेपछि जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।
जिल्ला सुरक्षा समितिको बैठकपछि जिल्ला प्रशासन कार्यालय गुल्मीको एक बिज्ञप्ती जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९३० अनुसार चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिनुभयो । निषेधाज्ञाको अवधीभर आपतकालीन र अत्यावश्यक काम बाहेक घरबाट बाहिर हिँडडुल नगर्न बिज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
सोमबार राति १२ बजेबाट ‘लक डाउन’ गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबार अर्को निर्णय गरेको हो । भोजनालय, खाद्यान्न तथा फलफूल, एवं तरकारी, औषधी पसल लगायत अस्पताल तथा स्वास्थ्य केन्द्रहरु, मालबाहक सवारीका साधनहरु, सरकारी छापाखाना र सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी वितरण, पेट्रोलियम पदार्थको वितरण, फोहरमैला संकलन तथा ढुवानी एवं विद्युत सेवा वाहेकका अन्य सबै सेवा बन्द गर्ने निर्णय बैठकले गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी लक्ष्मण पाण्डेयले जानकारी दिनुभयो ।
निषेधाज्ञाको उल्लंघन भए नियन्त्रणमा लिएर संक्रामक रोग ऐन, २०२० अनुसार एक महिनादेखि ६ महिना कैद हुने बिज्ञप्तीमा उल्लेख गरिएको छ।
