नेपालमा एक जना युवतीमा कोरोना भाइरस अर्थात कोभिड १९ को सङ्क्रमण देखिएको छ । आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री भानुभक्त ढकालले एक नेपाली युवतीमा कोरोना भएको पुष्टि गर्दै उनको उपचार चलिरहेको जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयका अनुसार ती युवती गत ४ गते कतार हुँदै नेपाल आएकी थिइन् । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी १९ वर्षिया युवतीमा कोरोना देखिएको सरकारले पुष्टि गरेको हो । उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा राखेर उपचार गरिँदैछ ।
उनलाई हिजोदेखि आइसोलेसनमा राखेर उपचार गरिरहेको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताउनुभयो । उनीसँगै नेपाल आउनेहरुलाई पनि उपचारको व्यवस्था गर्नका लागि खोजी भइरहेको सरकारले जनाएको छ ।
लक्षण देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्न आएकी उनमा कोरोनाभाइरसको संक्रमण रहेको आइतबार (हिजो) साँझ पुष्टि भएको थियो । उनी नेपाल आएपछि ‘होम क्वारेन्टाइन’मा बसेकी थिइन् ।स्वास्थ्यमन्त्री भानुभक्त ढकालले ती युवतीको परिवारलाई क्वारेन्टाइनमा राखिएको भन्दै उनीसँगै जहाजमा आएका अन्य मानिस कहाँ–कहाँ छन् भनेर खोजी गरिरहेको जानकारी दिनुभयो ।
नेपालमा कोरोनाभाइरसको पुष्टि भएको यो दोस्रो घटना हो । महिना दिनअघि चीनको वुहानबाट फर्किएका एक नेपालीलाई पनि कोरोना देखिएको थियो ।
