सरकारले मंगलबारदेखि लागू हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन बन्द गर्ने निर्णय पनि गरेको छ। यो सँगै नेपालका ७७ वटै जिल्लामा मंगलबारदेखि एक साताका लागि पूर्णतयाः लकडाउन हुने भएको छ। सरकारले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्मका लागि यो व्यवस्था गरेको हो।
लकडाउनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ।
औषधि उपचार, खानेपानीजस्ता अत्यावश्यकबाहेक सबै कार्यालयका कर्मचारीहरुलाई सोमबारदेखि कार्यालय नआउन पनि सरकारले निर्देशन दिएको छ । आन्तरिक हवाई उडान पनि सरकारले चैत १८ गतेसम्म बन्द गरेको छ।
संक्रामक रोग ऐन २०२० अनुसार सरकारको उच्चस्तरीय समितिले निर्देशन दिएअनुसार आदेशको पालना गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलले सवैमा आग्रह गर्नुभएको छ ।
