कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्दै जाँदा विश्वका विभिन्न मुलुकहरु ‘लकडाउन’ गरिएका छन्। चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमणसँग यतिबेला विश्वका १ सय ८२ देश जुधिरहेका छन्। नेपालमा भने भाइरसको संक्रमण एक जनामा देखा परे पनि उनी निको भएर घर फर्किसकेका छन्।
शंकास्पद ५ सय ४६ जनामा गरिएको परीक्षण नेगेटिभ आएको छ। तर पनि सरकारले नेपालमा कोरोना भित्रिन नदिनका लागि विभिन्न उपाय अपनाइरहेका छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने र लामो दूरीका सवारी साधनहरु नचल्ने घोषणा गर्नुभएको छ । उहाँले अत्यावश्यकबाहेक अन्य सेवा बन्द गर्ने घोषणा पनि गर्नुभएको छ । योसँग कोरोना संक्रमणसँग जुध्न नेपाल सेमिलकडाउनको स्थितिमा पुगेको छ।
सरकारले महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणविरुद्ध लड्न गरिने विशेष तयारी नै ‘लकडाउन’ हो। देश ‘लकडाउन’ भइसकेपछि कुनै पनि व्यक्ति अत्यावश्यक काम बाहेक घर बाहिर जान पाइँदैन। सरकारले आफ्ना नागरिक संक्रमणबाट जोगाउनका लागि उनीहरुलाई घरभित्रै सुरक्षित राख्न विभिन्न क्षेत्र ‘लकडाउन’ गर्न सक्छ।
‘लकडाउन’को मुख्य उद्देश्य भनेकै भिडभाड कम गर्नु हो। भिडभाड कम हुँदा संक्रमणको जोखिम धेरै हदसम्म कम हुने गर्छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरलको संयोजकत्वमा गठित ‘कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समिति’को बुधबारको बैठकले २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरिसकेको छ।
यो सँगसँगै जिम, नाइट क्लब, स्कुल कलेज, सिनेमा हल जस्ता भिडभाड हुने ठाउँ चैत मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ। यो सँगसँगै सरकारको उक्त निर्णय अनुसार शुक्रबार पशुपति क्षेत्र विकास कोषले मलामी आउँदा २५ जनाभन्दा बढी नआउन आग्रह गरेको छ।
देश लामो समयसम्म ‘लकडाउन’ भएको खण्डमा खाने कुराको अभाव हुने सम्भावना हुने हुँदा आफूलाई चाहिने सामाग्रीको जोहो गर्नु पर्दछ। तर खाने कुराको अभाव हुनसक्ने भन्दै आवश्यक्ता भन्दा बढी सर–सामान ‘स्टक’मा राख्नु हुँदैन। यसो गर्नले देशमा खाद्यान्नको अभाव सृजना हुन सक्छ।
