नेपाल प्रेस युनियनको चैत २१ र २२ गते नेपालगञ्जमा गर्ने भनिएको ९ औं महाधिवेशन स्थगन भएको छ । युनियन केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले विश्वभर ‘कोभिड–१९’ को संक्रमण फैलिरहेको र नेपालमा पनि सम्भावित संक्रमणलाई लिएर सरकारले तत्काल सभा, सम्मेलन नगर्नू भनी जारी गरेको सूचना अनुसार महाधिवेशन स्थगन गर्ने निर्णय गरेको हो ।
‘कोभिड–१९’ को सम्भावित संक्रमणलाई लिएर नेपाल सरकारले तत्काल कुनै पनि सभासम्मेलन नगर्न र सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको सूचना जारी गरेको थियो । कोरोना भाइरसको संक्रमण मुलुकमा सामान्य भइ सरकारले सभा, सम्मेलन आयोजना गर्न स्वीकृति प्रदान गरेपछि छिट्टै नवौँ महाधिवेशनको मिति र स्थान निर्धारण गरिने अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो ।
साथै युनियनले कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट सजग र सतर्क रहन तथा सर्वसाधारणलाई सचेतनाका लागि सहयोग गर्न मुलुकभरका युनियनकर्मीलाई आह्वान गरेको छ ।
