चीनले आफ्नो देशमा कोरोना भाइरसको नयाँ संक्रमण नदेखिएको दावी गरेको छ । चीनको हुबेई प्रान्तको वुहानमा शुरु भएको कोभिड–१९ को अभिलेख राख्न थालिएयता पहिलोपटक देशभित्र कुनै पनि नयाँ संक्रमित फेला नपरेको चिनियाँ अधिकारीहरूले दावी गरेका हुन् ।
तर बाहिरबाट चीन आएका ३४ जना व्यक्तिमा भने नयाँ संक्रमण देखिएको जनाइएको छ । जनवरी यता चीनमा ८१ हजारभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको थियो । यो भाइरसबाट अहिलेसम्म सबैभन्दा बढी मानिसको मृत्यु पनि चीनमै भएको छ । अहिलेसम्म ३ हजार २२५ जनाको मृत्यु यसैका कारण भएको छ । ७० हजारभन्दा बढी व्यक्तिलाई भने निको भएको बताइएको छ ।
१० हजारभन्दा बढी व्यक्तिमा अझै संक्रमण सक्रिय रहेको जनाइएको छ । संक्रमण फैलिएपछि कठोर क्वारेन्टाइन नीति लागु गरेकाले भाइरस थप फैलनबाट रोक्न सकिएको चिनियाँ अधिकारीहरुले बताएका छन् । यद्यपि, चीनमा कोरोना भाइरसको जोखिम हटिनसकेको विज्ञहरूको भनाइ छ ।