अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५४ | Colorodo: 07:09

विश्व स्वास्थ्य संगठनसँगको छलफलपछि परीक्षा स्थगित – सरकारका प्रवक्ता डा. खतिवडा

बिआरटीनेपाल २०७६ चैत ६ गते ९:०७ मा प्रकाशित

नेपाल सरकारका अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दीर्धकालीन असर नपरोस् भनेर विश्व स्वास्थ्य संगठनसंगको छलफलपछि सबै परीक्षा स्थगित गरिएको बताउनुभएको छ । सरकारका प्रवक्ता समेत रहनुभएका खतिवडाले बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विश्व स्वास्थ्य संगठन, अभिभावक, नागिरक समाजको आग्रहमा परीक्षा सारिएको स्पष्ट पार्नुभयो । अवस्था हेरेर परीक्षाका नयाँ तालिका सार्वजनिक गरिने मन्त्री खतिवडाले बताउनुभयो ।

सरकारले आपूर्ति सम्बन्धी व्यवस्थापन, बजारलाई व्यवस्थित र सुमधुर ढंगले चलाउन लागेको पनि मन्त्री खतिवडाले बताउनुभयो । व्यवसायीलाई कसरी सहज गर्न सकिन्छ भन्नेबारे जानकारी गराउने उहाको भनाई छ । मन्त्री खतिवडाले सरकारको पूर्व तयारीले गर्दा हवाई र स्थल नाका व्यवस्थित भएको र कोरोना फैलन नसकेको दाबी गर्नुभयो । सम्भावित जोखिमका ठाउँ व्यवस्थित गर्ने गरी सरकारले सावधानी र पूर्वतयारीका काम गरिरहेको जानकारी दिनुभयो ।

निजी क्षेत्रका चिकित्सकलाई स्वयंसेवकका रूपमा काम गर्न पनि आग्रह गर्दै खतिवडाले छिमेकी मुलुक र अन्तर्राष्ट्रिय संस्थाहरु सरकारलाई सहयोग गर्न तयारी रहेको र विभिन्न स्वास्थ्य उपकरण प्राप्त भइरहेका जानकारी गराउनुभयो । मन्त्री खतिवडाले कोभिड १९ बाट पर्यटन, हवाई, होटल व्यवसाय र योसँग सम्बन्धित व्यवसाय प्रभावित भएको उल्लेख गर्दै सरकारले अफ सिजनमा पर्यटक ल्याउने योजना बनाइरहेको उल्लेख गर्नुभएको छ । मन्त्री खतिवडाले उद्योग व्यवसायीलाई ऋण र कर भुक्तानी गर्ने मितिलाई केही पर सार्ने बारेमा गृहकार्य भइरहेको पनि बताउनुभएको छ ।

भारतमा भएको मूल्यवृद्धिको प्रभाव नेपालमा पनि परेको उल्लेख गर्दै मन्त्री खतिवडाले कृत्रिम मूल्यवृद्धि हुन नदिनेगरी सरकारले कार्य गर्ने आश्वासन दिनुभयो । कोरोनाले पर्यटनमा प्रभाव परेकाले सबै अर्थतन्त्र सिथिल हुन्छ भन्ने विषयमा नपत्याउन आग्रह गर्दैे खतिवडाले पर्यटन क्षेत्रमा जीडीपमा ३ प्रतिशत मात्रै योगदान गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय