न्यु योर्क । ट्रम्प प्रशासनले हरेक अमेरिकीलाई आर्थिक सहयोग गर्ने तयारी गरिरहेको छ । कोरोना भाइरसको प्रकोपबाट राहत पुगोस् भन्ने हेतुले ट्रम्प प्रशासनले यस्तो तयारी गरिरहेको हो ।
आर्थिक सहयोगका सम्बन्धमा ह्वाइट हाउस र क्यापिटोल हिलबिच कुराकानी भइरहेको ट्रेजरी सेक्रेटरी स्टिभन मनुचिनले बताएका छन् । उनले सहयोगको राशि करिब एक ट्रिलियन डलर हुने बताए । यो रकममा सहमति भए यो ठुलो मध्येको आपत्कालीन आर्थिक सहयोग हुनेछ । त्यस विषयमा मङ्गलवार क्यापिटल हिलका अधिकारी र जिओपी सिनेटहरहरुबीच छलफल भएको छ ।
उनले अमेरिकीहरूलाई आर्थिक सहयोग दिन असफल भए बेरोजगारी दर साढे ३ प्रतिशतबाट आकासिएर २० प्रतिशतसम्म पुग्ने चेतावनी पनि दिए । तर, सहयोग प्याकेज र यसका विविध पक्षबारे डेमेक्रेटहरुले सहमति जनाइसकेका छैनन् ।
ट्रम्प प्रशासनले तयार गरेको सहयोग प्याकेजका कतिपय विषयमा डेमेक्रेटहरुको फरक धारणा छ । दुवै दलबिच सहमति भई कङ्ग्रेसबाट सहयोग प्याकेज पारित हुन केही दिन लाग्ने देखिन्छ । कङ्ग्रेसबाट पारित भएपछि अमेरिकीहरूले सरकारी आर्थिक सहयोग पाउने छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प आर्थिक सहयोग सोझै चेकमार्फत हरेक अमेरिकीको घर घरमा पठाउन चाहन्छन् ।
कोरोना भाइरसको प्रभावका कारण अमेरिकामा सङ्कटकाल घोषणा गरिएको छ । कतिपय स्टेटमा रेस्टुरेन्टमा खान, १० जना र सोभन्दा बढी भेला हुन समेत रोक लगाइएको छ । मानिसहरू जमघट हुने कार्यालयहरू बन्द गराइएको छ । यसले अमेरिकाको आर्थिक गतिविधि ठप्प जस्तै बनेको छ । वित्तीय बजारमा पनि कोरोना भाइरसको नकारात्मक असर देखिएको छ । शेयर बजार, फ्यूचर मार्केट आदि अस्थिर देखिएका छन् । आर्थिक सहयोग पारित भएपछि शेयर बजारसहित वित्तीय बजारमा सकारात्मक प्रभाव पर्नेछ ।