नेपाली काङ्ग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूहको भेलाले नेतृत्वले गरेको फोहर सफा गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्ने निष्कर्ष निकालेको छ । सोमबार राजधानीमा आफ्नो गुटको भेलामा सम्बोधन गर्दै सिटौलाले नेतृत्वले गरेको फोहर सफा गर्न सबै युवा नयाँ सोचका साथ अगाडि बढ्नुपर्ने बताउनुभयो । सम्बोधनका क्रममा सिटौलाले अहिले काङ्ग्रेस राजनीतिक समाजमा ‘झिँगो’ स्वभावबाट अगाडि बढिरहेको टिप्पणी गर्नुभयो ।
प्रत्येक तहमा रहेका युवाहरुसँग फरक फरक क्षमता रहेको उल्लेख गर्दै सिटौलाले सबैको क्षमता बटुल्दै काङ्ग्रेसलाई परिवर्तनशील बनाउनुपर्ने बताउनुभयो ।परिवर्तित काङ्ग्रेसको काँधमा कम्युनिस्टसँग लडेर व्यवस्थालाई बलियो बनाउने अभियानमा लाग्न उहाँले आग्रह गनुभयो । आउँदो निर्वाचनमा सफलता शिखरसम्म पुग्ने अर्जुनदृष्टिका साथ तयारी गर्न उहाँले आग्रह गर्नुभयो ।
नेता गगन थापाले पार्टी नेतृत्वको अहिलेसम्म क्रियाकलापले तोकिएको समयमा महाधिवेशन हुन नसक्ने सम्भावना बढेर गएको बताउनुभयो । नेतृत्वको सफलता अथवा असफलता तोकिएको समयभित्र अधिवेशन गर्ने कुराले निर्धारण गर्ने उल्लेख गर्दै थापाले पार्टीको विधान अनुसार भूमिका निर्वाह गर्न सबैमा आग्रह गर्नुभयो ।महाधिवेशनको वातावरण बनाउने काम सभापति र महामन्त्रीको भएको थापाको भनाइ छ । जिल्लाहरुको समायोजन समयमै सक्न महामन्त्री खट्न नसकेको आरोप पनि उहाँले लगाउनुभयो ।
काठमाण्डौको बत्तिसपुतलीमा भएको भेलामा दुई सयभन्दा बढी नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । भेलामा नेताहरुले आफूहरु काङ्ग्रेसमा सुधार गर्दै अगाडि बढ्ने अभियानमा रहेको बताएका छन् ।
