अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई कोराना संक्रमण नभएको दावी गर्नुभएको छ । आफूले कोरोना भाइरसको परीक्षण गराएको र नतिजा नकारात्मक आएको भन्दै ट्रम्पले कोराना संक्रमण नभएको जानकारी दिनुभएको हो ।
उपराष्ट्रति माइक पेन्सले आयोजना पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रपति ट्रम्पले आफूले कोरोना भाइरसको परीक्षण गरेको र आफूमा संक्रमण नरहेको जानकारी दिनुभयो । अमेरिकामा अहिलेसम्म कोरोना भाइरसका कारण ५७ जनाको मृत्यु भएको छ भने २८ सय जनामा संक्रमण पुष्टि भएको छ ।
यसैबीच, कोरोना भाइरसको संक्रमण फैलिन नदिन अमेरिकाले बेलायत र आयरल्याण्डको यात्रामा पनि प्रतिबन्ध लगाएको छ । यसअघि यूरोपका विभिन्न मुलुकलाई यात्रा प्रतिबन्ध लगाएको अमेरिकाले बेलायत र रिपब्लिक अफ आयरल्याण्डलाई यो सूचीमा राखेको हो । यो प्रतिबन्ध आउँदो मंगलबारदेखि शुरु हुने अमेरिकी उपराष्ट्रपति माइक पेन्सले घोषणा गर्नुभयो ।यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियनका २६ देशका लागि शनिबारदेखि यात्रामा प्रतिबन्ध लगाएका लगाउनुभएको थियो । यो प्रतिबन्ध ३० दिनका लागि लगाइएको हो ।
उपराष्ट्रपति पेन्सले कोरोना भाइरसको निःशुल्क परीक्षण सबै अमेरिकीलाई उपलब्ध गराइने जानकारी पनि दिनुभएको छ ।कोभिड–१९ भाइरसको उत्पत्ति भएको मुलुक चीनले संक्रमणमा नियन्त्रण गर्दैगर्दा पछिल्लो दिनमा यस भाइरसको इपिसेन्टर भने युरोप बनेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।गत डिसेम्बरमा चीनको वुहानमा पहिलोपटक यो भाइरसको संक्रमण देखिएको थियो ।