प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन धेरै पहल गरिरहेको बताउनुभएको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) सदस्य मुलुकका राष्ट्राध्याक्ष र प्रधानमन्त्रीबीचको साँझ आयोजित भिडियो कन्फरेन्समा सम्बोधन गर्दै उहााले कोभिड –१९ विरुद्धको सचेतनाबारे नेपालले चालेका कमदबारे जानकारी गराउनुभयो ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट सो कन्फरेन्समा भाग लिँदै प्रधानमन्त्री ओलीले कोभिडको सम्भावित जोखिमलाई ध्यान दिएर अस्पतालहरुको क्षमतावृद्धि गरिएको, आत्मरक्षा र आइसोलेसनमा जानुपर्दाको तयारी गरिएको, नेपाल भ्रमण वर्ष २०२० तथा तेस्रो मुलुकका गतिविधि र अन्तरर्राष्ट्रिय सम्मेलनहरुको आयोजना स्थगन गरिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अन्य मुलुकबाट अनअराइभल प्रवेशाज्ञा रोकिएको, सङ्घीयस्तरमा उच्चस्तरीय रोकथाक तथा नियन्त्रण समन्वय समिति गठन गरिएको र उक्त समिति स्थानीय तहसम्म गठन गरिएको पनि उल्लेख गर्नुभयो । कोभिड –१९ विरुद्धको अभियानका लागि नेपाल सचेत रहेको र रोकथामका लागि धेरै पहल गरिरहेको प्रधानमन्त्रीको भनाई थियो ।
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सार्कस्तरमा रणनीति तय गर्न यस प्रकारको कन्फरेन्स आयोजना गरेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आभार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यस्थितिबारे चासो राख्नुभएकामा मोदीलगायत सार्कका नेताहरुलाई धन्यवाद पनि व्यक्त गर्नुभयो ।
‘भिडियो कन्फरेन्स अन सार्क लिडर्स अन कमव्याटिङ कोरोना भाइरस : सेटिङ अन एक्जाम्पल फर द वल्र्ड’ नाम दिइएको सो कन्फरेन्स गर्न भारतीय प्रधानमन्त्री मोदीले गत फागुन ३० गते ट्विटमार्फत् गरेको आग्रहलाई सदस्य मुलुकले स्वागत गरेका थिए । मिर्गाैला प्रत्यारोपणपछि आज पहिलो पटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी कन्फरेन्समा सहभागी हुनुभएको हो ।
