अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:१९ | Colorodo: 05:34

सबै प्रदेशमा कोरोनाको नमूना परीक्षणका लागि प्रयोगशाला विकास गर्न सरकारको निर्देशन

बिआरटीनेपाल २०७६ चैत २ गते ८:३७ मा प्रकाशित

नोवेल कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले रोगको जाँचका गर्न नमूना परीक्षणका लागि प्रयोगशाला निर्माण गर्न प्रदेशका मुख्यमन्त्रीहरुलाई निर्देशन दिएको छ । समितिले आइतबार सातै प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखहरुलाई सिंहदरबारमा बोलाएर कोरोना भाइरस जाँचका लागि नमूना संकलन गरेर वा बिरामीलाई केन्द्रमा पठाउने कार्य जोखिमपूर्ण र जटिल भएकाले प्रदेशमै प्रयोगशालाको निमार्ण गर्न निर्देशन दिएको हो।

हाल संघीय राजधानीको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्रै कोरोना भाइरसको जाँच हुँदै आएको छ। समितिले भारतसँग जोडिएका नाकाहरुको निगरानीमा थप कडाई गर्न प्रदेशका मुख्यमन्त्रीहरुलाई निर्देशन दिएको सरकारका प्रवक्ता संचार तथा सुचना प्रबिधीमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।

उहाँका अनुसार समिति बैठकले कोरोनाको त्रासमा खाद्य आपूर्ति बन्द हुने अवस्थालाई ध्यानमा राखेर अत्यावश्यक सामाग्री ‘फास्ट ट्रयाक’ बाट खरिद गर्ने निर्णय पनि गरेको छ। बैठकले कोरोनाको उपचारमा खटिने चिकित्सकको बीमा गर्ने निर्णय समेत गरेको छ ।

यसैबीच, सातै प्रदेशका मुख्यमन्त्रीहरूले कोरोना भाइरस संक्रमण भित्रिन नदिन केन्द्र सरकारसँग बजेटको माग गरेका छन् । उनीहरुले ल्याब लगायतका अत्यावश्यकीय सामग्रीका लागि केन्द्र सरकारले बजेट दिनुपर्ने माग गरेका हुन् ।

कोरोना भाइरस प्रवेश गर्न नदिन प्रदेश सरकारले गरेका कामबारे जानकारी गराउँदै मुख्यमन्त्रीहरुले केन्द्रले सहयोग नगरे आफूहरुले मात्र थेग्न नसक्ने बताएका थिए । सो अवसरमा सरकारका उपप्रधानमन्त्री पोखरेलले सोमबार उच्चस्तरीय संयन्त्रको बैठक राख्ने र मुख्यमन्त्रीहरूको मागमा छलफल गरिने आश्वासन दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय