अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३१ | Colorodo: 03:46

कोभिड– १९ विरुद्ध लड्न संयुक्त कोष खडा गरौं, सुरुमा भारतले एक अर्ब जम्मा गर्छ – प्रधानमन्त्री मोदी

बिआरटीनेपाल २०७६ चैत २ गते ८:३६ मा प्रकाशित

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सार्क राष्ट्रबीच संयुक्त आपत्कालीन् कोष खडा गर्न प्रस्ताव गर्नुभएको छ । आइतबार कोभिड–१९ विरुद्धको लडाइँमा आगामी रणनीति तयार गर्न सार्क मुलुकका सरकार प्रमुख तथा प्रतिनिधिबीच भएको भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदीले संयुक्त आपतकालीन कोष स्थापनाका लागि प्रस्ताव गर्नुभएको हो ।

भारतीय प्रधानमन्त्री मोदीले हरेक राष्ट्रले यसमा योगदान गर्ने र आवश्यकता अनुरुप यसलाई परिचालन गर्न सकिने पनि बताउनुभएको छ । मोदीले यस कोषमा भारतले सुरुमा १० मिलियन अमेरिकी डलर(करिब एक अर्ब नेपाली रुपैयाँ) बराबरको राशी कोषमा जम्मा गर्ने जानकारी गराउनुभयो । साथै मोदीले सार्क मुलुकका लागि विशेष ’मेडिकल रेस्पोन्स टिम’को प्रस्ताव गर्दै भारतीय चिकित्सकहरुको र्यापिड रेस्पोन्स टिम’ पनि कोभिड– १९ को प्रकोप नियन्त्रणका लागि खट्ने जानकारी दिनुभयो ।

कोभिड–१९ को प्रकोपले आन्तरिक तथा बाह्य अर्थतन्त्रमा समेत असर पार्ने भन्दै भारतीय प्रधानमन्त्री मोदीले सार्क राष्ट्रबीचको सहकार्यले मात्रै यस समस्याको पार लाग्ने उल्ल्ेख गर्नुभएको छ । मोदीले सार्क राष्ट्रको अर्थतन्त्र मजबुत बनाउन दीर्घकालीन रणनीति बनाएर अगाडि बढ्नुपर्ने आवश्ष्कता समेत औंल्याउनुभयो ।

भिडियो कन्फरेन्समा भारतीय प्रधानमन्त्री मोदी, अफगानिस्तानका राष्ट्रपति अशरफ घानी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री लोटे छिरिङ, मालदिभ्सका राष्ट्रपति इब्राहिम सोली, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली, पाकिस्तानका स्वास्थ्य मन्त्री जाफर मिर्जा तथा श्रीलंकाका राष्ट्रपति गोटबया राजापाक्षे सहभागी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय